जनजाति महिलाहरूका लागि तीन महिने साक्षरता कार्यक्रम शुरु

सागर परियार / फागुन २४,जुम्ला ।
जुम्लाका जनजाति महिलाहरूका लागि तीन महिने साक्षरता कार्यक्रम शुरु गरिएको छ । सधैँ घरभन्दा व्यस्त हुने निरक्षर जुम्लाका जनजाति महिलालाई सामान्य लेखपढ गराउने लक्ष्यका साथ चन्दननाथ नगरपालिकाको सहयोगमा तीन महिने जनजाति महिलाका लागि साक्षरता कार्यक्रम शुरु भएको हो । तीन महिने साक्षरता कार्यक्रमबाट जुम्ला सदरमुकाममा रहेका करिब ८० जना जनजाति महिला लाभान्वित हुने गरी कार्यक्रम शुरु गरिएको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने (महत)ले बताए । सामान्य लेखपढ पनि गर्न नजान्ने महिलालाई लक्षित गरी ३ महिनाको लागि साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको र जनजाति महिलालाई आफ्नो नाम लेख्न, मोबाइल चलाउन, फोन नम्बर चिन्ने लगायतका कुरामा सक्षम बनाउने लक्ष्य रहेको उपमेयर न्यौपानेको भनाई छ । शिक्षाले गर्दा रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर बनाइने उल्लेख गरे । यता, जनजाति महिलाका प्रतिनिधि छिरिङ लामु लामा तामाङ्गले जनजातिका महिलाले बल्ल अक्षर चिन्न शुरु गरेकोमा खुसी व्यक्त गरे । तीन महिने साक्षरता कार्यक्रमले जनजाति महिलाको आनीबानी परिवर्तनदेखि सामान्य लेखपढमा समेत सुधार हुने विश्वास गरिएको छ ।

 

Translate »