नेपालका ८३% जनताको पहुँचमा इन्टरनेट सेवा

फागुन २६, काठमाडौं ।
नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसंख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनाको तथ्यांक अुनसार मंसिर मसान्तका तुलनामा पुस महीनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मंसिरमा कुल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो । कुल जनसंख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ ।

एक करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जानकारी दिइएको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार ५७३ रहेका छन् । प्राधिकरणको तथ्यांक अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् । रासस

 

Translate »