स्याउको ‘हव’ बन्दै डोल्पाको मुड्केचुला

फागुन २७, जाजरकोट ।
जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ । प्रतिबिरुवा रू। ७० मा खरीद गरेर कृषकलाई वितरण गरिएको हो ।

गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो । मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ ।गाउँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी रहेको छ । सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन शुरु गर्ने सम्भावना बढेको स्थानीयवासी समीर शाहीले बताए । त्रिवेणी र जुम्लाबाट एकै साथ सडक निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी आफूले उत्पादन गरेको स्याउले बजार पाउने भन्दै खुशी भएका छन् । त्यस्तै एक हजार ओखरका बिरुवा वितरण कार्य चलिरहेको छ । डोल्पा स्याउ उत्पादनको राम्रो जिल्ला मानिन्छ । यहाँ उत्पादन भएका स्याउले बजार नपाउँदा कृषक पीडित हुँदै आएका थिए । सडक विस्तारसँगै देशका विभिन्न ठाउँमा लिएर डोल्पाली स्याउले बजार पाउने भएसँगै स्याउ लगाउने कृषकको संख्या बढेको छ । खाद्यान्न उत्पादन कम हुने डोल्पामा स्याउ उत्पादन भने राम्रो हुँदै आएको छ । रासस

Translate »