तातोपानी गाउँपालिकामा २८ वटा ऐन, कानुन निर्माण

सागर परियार / चैत १,जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिकाले हालसम्म २८ वटा ऐन, कानुन तथा कार्यविधि निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालनको साढे तीन वर्षको अवधिमा तातोपानीले विभिन्न विषयसँग सम्बन्धित २८ वटा ऐन कानुन निर्माण गरेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । सबै कानुन तथा ऐनहरु सङ्घ तथा प्रदेश सरकारसँग नबाझिने गरी निर्माण गरिएको उहाँको भनाई छ । धितालका अनुसार हालसम्म निर्माण गरिएका २८ वटा ऐन, कानुन र कार्यविधि मध्य २१ वटा राजपत्रमा प्रकाशित भइसकेका छन् । ७ वटा प्रकाशनको तयारीमा रहेका छन् । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्थानीय सरकार सञ्चालनको पहिलो वर्षमा कानुन, कार्यविधि नहुँदा कसरी काम गर्ने अन्योल भएकोले गर्दा कार्यसम्पादन सजिलो गर्न कानुन निर्माणमै प्राथमिकता दिएको बताए । विषय विषशज्ञसँग छलफल तथा परामर्श गरी ऐन कानुन निर्माण गरे पश्चात् पालिकाको पूर्वाधार विकासदेखि उद्यमशीलता, कृषि व्यवसाय पर्वद्धनका क्षेत्रमा काम गर्न सहज भएको अध्यक्ष न्यौपानेको भनाई छ ।

तातोपानी गाउँपालिकाले हालसम्म आर्थिक ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवर्धन ऐन, पदाधिकारीको आचारसंहिता ऐन, बजार अनुगमन तथा निर्देशिका, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्था ऐन, शिक्षा नियमावली, गुनासो सम्बोधन व्यवस्थापन ऐन कार्यविधिलगायत करिब २१ वटा कानुन ऐन कार्यविधि २०७४ सालमा राजपत्रमा प्रकाशन गरी कार्यान्वितता छन् । प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ लगायत अन्य ६ वटा ऐन कानुन प्रकाशनको तयारीमा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । कार्यपालिका सदस्य आदी प्रसाद न्यौपानेले कार्यसम्पादनलाई सहज तथा विधि र पद्धति अनुसार अघि बढाउन कानुन निर्माण गरिए पनि अक्षांश कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विभिन्न ऐन, कार्यविधिमा सजाय, जरिवाना स्थानीयको आय स्तरभन्दा बढी तोकिएकोले संशोधन गर्नु पर्ने र कानुन निर्माणसँगै कार्यान्वयनमा जोड दिई परिणाममुखी काम गर्नुपर्ने उनको भनाई छ । गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले हामीले बनाएका ऐन कानुनले पछि आउने जनप्रतिनिधिलाई कार्यसम्पादनमा सहज हुने बताए । सङ्घीयतालाई कार्यान्वयन गर्न पहिलो कार्यकाल कानुन निर्माण बितेको र पछि आउने जनप्रतिनिधिले सहज रुपमा काम गर्ने वातावरण तयार गरिदिएको उल्लेख गरे ।

Translate »