विपन्न बालबालिकाको उत्थानका लागि अक्षयकोष स्थापना

स्काई न्यूज /चैत १, सुर्खेत ।
विपन्न, गरिब तथा बेसहारा बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ । तुलसी सेवा फाउण्डेशनले शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि अति विपन्न तथा बेसहारा बालबालिकाको उत्थानका लागि अक्षयकोष स्थापना तथा सहयोग हस्तान्तरण गरेको हो । फाउण्डेशनले बेसहारा बालबालिकाको शिक्षा क्षेत्रको उत्थानका लागि २ दुई लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । अक्षय कोष स्थापना कार्यक्रममा अमेरिकाको भर्जिनियाँ राज्यमा बस्दै आएका बिनोद गुप्ता तथा श्रीमती अनुराधा गुप्ताबाट २३ हजार २ सय ५० रुपैयाँ बराबरको बेसहारा तथा अति विपन्न ८ जना बालबालिकालाई २÷२ जोर ड्रेस र कापी, कलम बितरण गरिएको फाउण्डेशनका अध्यक्ष रगवीर विश्वकर्माले जानकारी दिए । उनले स्व. तुलसीदेवी विश्वकर्माको सम्झनामा स्थापना गरिएको अक्षयकोषको व्याजबाट आउने रकमले हरेक वर्ष बेसहारा तथा अति विपन्न बालबालिकाको शिक्षाको उन्नयनका लागि खर्च गरिने बताए । उनका अनुसार हाल २ लाख ५० हजार रुपैयाँबाट अक्षयकोषको स्थापना गरिएपनि कोषमा हरेक वर्ष रकम थप गरिँदै लगिने छ ।
कोष स्थापना कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य सीता नेपालीले विपन्न, असाहय तथा गरिबका बालबालिकाको शिक्षाको विकास लागि तुलसी सेवा फाउण्डशनले थालेको कार्यको प्रशंसा गर्दै आफुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै सुर्खेत क्याम्पस शिक्षा प्रमुख माधवप्रसाद खनालले बेसहारा बालबालिकाको उत्थानका लागि फाउण्डेशनले पुण्य र उदाहरणीय कार्यको थालनी गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नगर उपसभापति बलीबहादुर अधिकारी, नेकपा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, नेपाल कम्युनिष्ट पार्टी वीरेन्द्रगरका इञ्चार्ज ऐना धमाला, राप्रपाका नगर प्रतिनिधि तुलाराम पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि शेरबहादुर शाही, पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भीमबहादुर भण्डारी, सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष डम्मर सुनार, सामुदायिक सिकाई केन्द्र बाङ्गेसिमलका अध्यक्ष मोहनदेव गिरी, फाउण्डेशनका सदस्य बिष्णु नेपाली एवं ज्ञानेन्द्रबहादुर विश्वकर्मालगायतले जीवन परिवर्तन र स्थायित्वका लागि शिक्षा महत्वपूर्ण रहेको बताउँदै गरिव, विपन्न तथा अनाथ बालबालिकाको सहयोगमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।
