कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा खनाल सिफारिस


स्काई न्यूज / चैत २, सुर्खेत ।
कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त हुने भएका छन् । दैलेख निवासी खनाललाई सोमबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नियुक्तिका लागि सिफारिस पत्र आएको जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्था अनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । यसअघि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका विद्याभुषण मानन्धरको फागुन १३ गतेदेखि लागु हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई सिफारिस गरिएको हो । स्रोतका अनुसार केही दिनमै प्रदेश प्रमुखको कार्यालयमा खनालले सपथ लिने कार्यक्रम तय गरिएको छ । लामो समयदेखि अधिवक्ता भएर काम थालेका खनाल कानून र न्यायका जानकारका रुपमा सर्वसाधारणले बुझ्ने गरेका छन् । नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने व्यवस्था गरेको छ । मुख्य न्यायाधिवक्ताको नियुक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ । संविधानको धारा १६० (५) मा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुने र संवैधानिक एंव कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा मुख्य न्यायाधिवक्ता वा निजको मातहतका सरकारी वकीलबाट प्रदेश सरकारको प्रतिनिधित्व गरिने व्यवस्था गरेको छ ।

Translate »