सुर्खेतमा विविध कार्यक्रम गरि विश्व उपभोक्ता अधिकार दिवस मनाईयो


स्काई न्यूज /चैत २, सुर्खेत ।
सुर्खेतमा विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर विविध कार्यक्रम गरि मनाईएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको अगुवाईमा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा उपभोक्ता जागरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । त्यसै गरि सोमवार नै विश्व उपभोक्ता अधिकार दिवस १५ मार्चको अवसर पारेर वीरेन्द्रनगर नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत, उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुर्खेत, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, मानव अधिकार समूह सुर्खेत, जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेत, किर्डाक नेपाललगायतका संघ संस्थाले प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

वीनपाको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उपभोक्ता हित संरक्षणका लागि सबैपक्षको समान जिम्मेवारी रहेको बताए । उनले अनुगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिए । वीनपाका मेयर देवकुमार सुवेदीले उपभोक्ता र उद्योगी व्यवसायी आफैमा सचेत भएमा महत्वपूर्ण उपलब्धि हुने बताए । उनले वीनपाको उपभोक्ता हित संरक्षण समिति अन्तर्गत उपभोक्तालाई सचेत पार्ने तथा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने माथि कार्वाही समेत हुने गरेको जानकारी दिए । कार्यक्रमका सहभागीहरुले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्न वीरेन्द्रनगर नगरपालिकाले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उपभोक्ता सचेत नबन्दासम्म प्लास्टिक प्रयोग नरोकिने बताउँदै उनीहरुले आफ्नो स्वास्थ्यका लागि उपभोक्ताहरु पनि जिम्मेवार बन्न सुझाव दिए ।

Translate »