कृषि बीमाप्रति किसानको बढ्दो आकर्षण
चैत ३, खलङ्गा ।
जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका २ हजार १२० जना स्याउ किसानलाई क्षतिपूर्ति क्षतिपूर्ति उपलब्ध गराएको बताएको छ । पछिल्लो समयमा जिल्लामा स्याउ खेतीमा किसानको आकर्षण बढेसँगै बीमा गर्नको सङ्ख्यामा पनि वृद्धि भएको कम्पनीको शाखा कार्यालय जुम्लाका प्रमुख दीपदर्शन फडेराले जानकारी दिए । गत वर्ष असिनाका कारण स्याउ नष्ट भएपछि स्याउको बीमा गरेका किसानले क्षतिपूर्ति पाएको उनको भनाइ छ । यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । स्थानीय तहका कृषि शाखाको सिफारिसमा बीमा गरेका किसानलाई कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि आफूहरु क्षतिपूर्ति पाउको स्याउ किसान नर रोकायाले बताए। यसैगरी छिमेकी जिल्ला कालीकोट र मुगुका १ हजार ३८२ जना स्याउ किसानले स्याउ बीमा गरेबापत २ करोड ५५ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्। बीमा गराएका कारण स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसान राहत पाएको कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले बताए ।
शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार विसं २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागिपरेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको शाखा प्रमुख प्रमुख पाण्डेको भनाइ छ । जिल्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारले यहाँका स्याउ किसानलाई राहत हुने गरी काम गर्न आवाश्यक रहेको तिला गाउँपालिका–१ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताए । जिल्लाका झण्डै २१ हजार घरधुरीमध्ये करीब १६ हजारभन्दा बढीले प्रत्यक्षरुपमा स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । रासस