राष्ट्रिय परिचय पत्रका लागि अछाममा ८४ हजारभन्दा बढीको विवरण दर्ता

चैत ४,अछाम ।
अछाममा हालसम्म ८४ हजार बढी नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट २०७६ असारदेखि सञ्चालित नियमित कार्यक्रम र हाल सञ्चालित शिविरहरूबाट नागरिकले आफ्नो विवरण दर्ता गराएका हुन् । गत पौष २१ गतेबाट हरेक पालिकाका वडा तहमा अभियानका रुपमा सञ्चालन भएको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता शिविरमा ७६ हजार ८ सय ८ जना र जिल्ला प्रशासन कार्यालयबाट करिब ७ हजार २ सय बढीको विवरण दर्ता भए सँगै जिल्लामा ८४ हजार बढीको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । हालसम्म अछामका विभिन्न १० स्थानीय तहका ७६ हजार ८ सय ८ जनाको विवरण दर्ता भएको छ । जिल्लाका आठ पालिकामा रहेका सम्पूर्ण नागरिकले विवरण दर्ता गराए सँगै ती पालिकामा दर्ता कार्य सम्पन्न भैसकेको कार्यालयले जनाएको छ ।

जिल्लाका पञ्च देवल विनायक नगरपालिकामा ९ हजार १ सय २१ जना, रामारोशन गाउँपालिकामा ७ हजार ४ सय ९८ जना, मङ्गलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जना, कमलबजार नगरपालिकामा ६ हजार ४ सय १४ जना तथा बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २ सय ४७ जनाको विवरण सङ्कलन गर्दै यी पालिकामा विवरण दर्ता कार्य सम्पन्न भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिए । यस्तै मेल्लेख गाउँपालिकामा ८ हजार १ सय ६० जना, चौरपाटी गाउँपालिकामा ७ हजार ६ सय ६९ जना, साँफेबगर नगरपालिकामा १० हजार ६७ जनाको विवरण दर्ता गरिएको र ती पालिकामा रहेका सम्पूर्ण नागरिकले विवरण दर्ता गराईसकेका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जानकारी दिए । अभियान जारी रहेका दुई पालिकामा पनि दर्ता कार्य अन्तिम चरणमा पुगेको छ । जसअनुसार ढकारी गाउँपालिकामा ७ हजार ८९ जना, र तुर्माखाँद गाउँपालिकाका ६ हजार ९ सय १३ जनाको विवरण राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरिएको छ । यी दुई पालिकामा पनि केही दिनमै दर्ता कार्य सक्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ । ३ महिनामा अछाम जिल्लाका सम्पूर्ण नागरिकको विवरण दर्ता गरिसक्ने गरी अभियान सञ्चालन गरिएको हो । हरेक पालिकाका वडा तहमा गएर राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन तथा व्यक्तिगत घटना अद्यावधिक कार्य शिविर सञ्चालन गरी अभियानको रुपमा भइरहेको छ ।

अछाम जिल्लामा २०७६ साल असार २६ गतेदेखि जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको शुभारम्भ गरिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट हालसम्म करिब ७ हजार २ सय बढीले विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएकामध्ये हालसम्म १ हजार १ सय ३७ जनाको राष्ट्रिय परिचयपत्र तयार भैसकेको छ भने १ सय ७० जनाले परिचयपत्र लिइसकेका छन् । नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ । हाल यो कार्यलाई नेपाल सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । अछाम जिल्लाको हकमा रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेकाको सङ्ख्या समेत बढी रहेको पाइएको छ । करिब ३५ देखि ४० प्रतिशत नागरिक बाहिर रहेको पाइएको हो । बढीमा ६० प्रतिशत नागरिकको विवरण दर्ता हुन सक्ने देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Translate »