दैलेखमा नेपाल बैंकको २०५ औं शाखा सञ्चालन

नेपाले बैंक लिमिटेडले कर्णालीका दश मध्ये ७ जिल्लामा आफ्नो सेवा विस्तार ग¥यो


स्काई न्यूज/ चैत ४, सुर्खेत ।
नेपाल बैंक लिमिटेडले दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दैलेख सदरमुकाम नारायण नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरि आफ्नो २०५ औं शाखा सञ्चालनमा ल्याएको हो । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् । कर्णालीमा बैंकको यो १२ औं शाखा हो । बैंकले कर्णाली प्रदेशका दश जिल्ला मध्ये ७ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६ दशमलव ९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए । ‘सरकारले ल्याएका सहुलियतपूर्ण कर्जाहरु समेत बैंकबाट सरल र सहजरुपमा उपलब्ध भईरहेका छन,’ उनले भने, ‘हामी कर्णाली जस्तो आर्थिक गतिविधिमा पछाडि पारिएको क्षेत्रलाई माथि उठाउन हातेमालो गर्न तयार छौं ।’ उनले व्यावसायिक तथा सहुलियतपूर्ण कर्जाको सदुपयोग गरि लाभान्वित हुन सेवाग्राहीलाई आग्रह गरे । उनका अनुसार बैंकले सबै प्रकारका नागरिकलाई आवश्यकताका आधारमा सबै शाखाबाट समानरुपले सेवा उपलब्ध गराएको छ । कार्यक्रममा नगरप्रमुख खड्काले बैकिङ्ग सेवालाई अब समय सापेक्ष बनाउँदै ग्रामिण अर्थतन्त्रलाई टेवा पुग्नेखालका साना तथा मझौला उद्यमी तथा किसान केन्द्रित योजनाहरु सञ्चालन गरिनु पर्नेमा जोड दिए । उनले उत्पादनशील क्षेत्रमा लगानी बढाएर रोजगारीसँगै नागरिकको आयवृद्धिमा योगदान बढाउन बैंकलाई सुझाव दिए । त्यस्तै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले मुनाफा कमाउने बैंक मात्र नभई सामाजिक उत्तरदायित्वसहित उद्यमी तथा व्यवसायीमैत्री सेवा प्रवाह गर्न आग्रह गरे ।

Translate »