एमाले संसदीय दल बोर्ड गठन

खनाल र नेपाल पनि सदस्य

चैत ५,काठमाडौँ ।
नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ ।बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् । त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए । दलको अर्को बैठक चैत ७ गते बस्ने सांसद शेरबहादुर तामाङले बताए । एमाले संसदीय बोर्ड सदस्यहरू केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ,शेरबहादुर तामाङ ,रघुवीर महासेठ ,भुपेन्द्र थापा,खेम लोहनी ,सरिता दाहाल, विमला विक,राधा ज्ञवाली,बिन्दा पाण्डे,विशाल भट्टराई,सुमन प्याकुरेल,शान्ता चौधरी,विमला राई पौडेल,राजेन्द्र राई, मोहन बानियाँ,नारदमुनि राना,विद्या भट्टराई,दामोदर भण्डारी,रेखा झा,छविलाल विश्वकर्मा ,खिमलाल भट्टराई रहेका छन् ।

गुटगत भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दल बैठकको निर्णय
बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । सांसद बस्नेतले कान्तिपुरसँगको कुराकानीमा भने, ‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय भएको छ ।’ सांसद बस्नेतले एमाले संसदीय दलको बोर्ड गठन भएको पनि बताएका छन् । बोर्डमा २७ जना सदस्य रहने पनि उनले बताए । त्यस्तै एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने भएको छ । बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले भने बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।

 

Translate »