बाँके पूर्ण खोप जिल्ला घोषणा

चैत ६,नेपालगञ्ज ।
बाँके पूर्ण खोप जिल्ला घोषणा भएको छ । नेपालगञ्जमा आज आयोजित एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले बाँके जिल्लालाई पूर्ण खोप घोषणा गरे । घोषणा सभामा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँके पूर्ण खोप जिल्ला घोषणा हुन सफल भएकोमा सबैलाई बधाई दिँदै खोप प्रतिको जागरण ल्याउन सम्बद्ध सरोकारवालालाई निर्देशन दिए । उनले प्रदेशका सबै बालबालिकालाई उनीहरुले पाउनु पर्ने खोप प्राप्तिका लागि सरकार गम्भीर रहेको बताए । उनले लुम्बिनी प्रदेशका बाँकी जिल्लालाई पनि तत्काल पूर्ण खोप घोषणा गरेर लुम्बिनी प्रदेशलाई नै खोप सुनिश्चित भएको प्रदेश घोषणा गरिने उल्लेख गरे । बाल मृत्युदर रोक्नका लागि खोप अनिवार्य शर्त भएको मन्त्री बरालले बताए । बाँकेमा जन्मेदेखि १५ महिना उमेर समूहका १० हजार ९ सय ५६ जना बालबालिकाले खोप लगाएका छन् । छुटेका १६ देखि २३ महिना उमेर समूहका ९ सय ५४ जनाले पनि खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

Translate »