अछाममा एक लाख ४८ हजार मतदाता

चैत ६,अछाम ।
अछाममा हालसम्म एक लाख ४८ हजार मतदाता रहेको पाइएको छ । अछाम जिल्लामा चैत्र ५ गतेसम्म १ लाख ४८ हजार ४ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । गत पौष ५ गते संसद् विघटन भएपछि उक्त मितिसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाको विवरण जिल्ला निर्वाचन कार्यालयले अद्यावधिक गरेको हो । जसमा ७१ हजार ४ सय ३८ जना पुरुष, ७६ हजार ९ सय ६० महिला र २ जना तेस्रो लिङ्गी गरी जम्मा १ लाख ४८ हजार ४ सय मतदाता रहेको कार्यालयले जनाएको छ । पुरुष र महिलाको तथ्याङ्क हेर्दा महिला मतदाताको सङ्ख्या ५ हजार ५ सय २२ जनाले बढी छ । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । २ वटा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा १ सय २९ मतदान स्थल रहेको पनि जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्यक्रम अछाम जिल्लामा बिहीबारबाट पुनः सञ्चालन भएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार चैत ५ गतेबाट अछाम जिल्लामा पनि मतदाताका लागि नामावली सङ्कलन थालिएको जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका थिए । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो । तर सर्वोच्च अदालतले गत फागुन ११ गते संसद् विघटन बदर गरिदिएको झण्डै एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन खुला गरेको हो ।

Translate »