अछामका ९ पालिकामा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता शिविर सम्पन्न

चैत ७,अछाम ।
अछाम जिल्लामा ८५ हजार ६ सय ६७ नागरिकले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गराएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा अभियानको रुपमा सञ्चालित शिविर र जिल्ला प्रशासन कार्यालयमा नियमित दर्ता कार्यबाट ८५ हजार ६ सय ६७ नागरिकको विवरण दर्ता गरिएको हो । दश वटा स्थानीय तहमध्ये तुर्माखाँद गाउँपालिका बाहेक अन्य सबै पालिकामा विवरण दर्ता शिविर सम्पन्न भैसकेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए । गत पौष २१ गतेदेखि पौष ५ गतेसम्म जिल्लाका १० वटै पालिकाका वडा तहसम्म सञ्चालित शिविरबाट ७७ हजार ८ सय ४१ जना र जिल्ला प्रशासन कार्यालयमा रहेको स्थायी स्टेसनमा ७ हजार ८ सय २६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिए । यो सङ्ख्या जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम सङ्कलन गराएका मतदाता सङ्ख्याको ५७ दशमलव १३ प्रतिशत हो । हाल जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको सङ्ख्या १ लाख ४९ हजार ९ सय ५० रहेको कार्यालयले जनाएको छ ।
गत पौष २१ गतेबाट हरेक पालिकाका वडा तहमा अभियानका रुपमा सञ्चालन भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शिविरमा ९ वटा पालिकामा दर्ता कार्य सम्पन्न भएको छ । पालिकामा रहेका सम्पूर्ण नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । काम वा रोजगारीको सिलसिलामा बाहिर भएकाहरूको विवरण दर्ता हुन नसकेको पाइएको हो ।

शिविरमार्फत जिल्लाको पञ्च देवल विनायक नगरपालिकामा ९ हजार १ सय २१ जना, रामारोशन गाउँपालिकामा ७ हजार ४ सय ९८ जना, मङ्गलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जना, कमलबजार नगरपालिकामा ६ हजार ४ सय १४ जना तथा बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २ सय ४७ जनाको विवरण सङ्कलन गर्दै विवरण दर्ता कार्य सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जानकारी दिए । यस्तै , मेल्लेख गाउँपालिकामा ८ हजार १ सय ८८ जना, चौरपाटी गाउँपालिकामा ७ हजार ६ सय ८७ जना, साँफेबगर नगरपालिकामा १० हजार ६७ जना, ढकारी गाउँपालिकामा ७ हजार २ सय ३३ जनाको विवरण दर्ता भएको छ । तुर्माखाँद गाउँपालिकाका ७ हजार ७ सय ५६ जनाको विवरण दर्ता गरिएको र केही दिनमा दर्ता कार्य सकिने प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ । ३ महिनामा अछाम जिल्लाका सम्पूर्ण नागरिकको विवरण दर्ता गरिसक्ने गरी अभियान सञ्चालन गरिएकोमा ३ महिना अगावै हरेक पालिकाका वडा तहमा गएर राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन तथा व्यक्तिगत घटना अद्यावधिक कार्य शिविर सम्पन्न हुने देखिएको छ । विवरण दर्ताका लागि कञ्चनपुर जिल्लाबाट ४७ जना तालिमप्राप्त दर्ता अपरेटर ल्याइएको थियो । अपरेटरहरूलाई सम्मान पत्र सहित बिदाइ गरिएको समेत सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले बताए । अछाम जिल्लामा २०७६ साल असार २६ गतेदेखि जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको शुभारम्भ गरिएकोमा हालसम्म १ हजार १ सय ३७ जनाको राष्ट्रिय परिचय पत्रको कार्ड प्राप्त भैसकेको छ भने २ सय १२ जना नागरिकले परिचयपत्रको कार्ड समेत प्राप्त गरिसकेका छन् । नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ । हाल यो कार्यलाई नेपाल सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । काम वा रोजगारीको सिलसिलामा बाहिर रहेकाहरूले जिल्ला प्रशासन कार्यालयबाट विवरण दर्ता गराउन सक्ने कार्यालयले जनाएको छ ।

Translate »