घट्ट सञ्चालन गरेर जीवन गुजारा

चैत ९,जाजरकोट ।
पछिल्लो समय जाजरकोटका धेरैजसो स्थानीयवासीको लागि घट्ट व्यवसाय स्वरोजगारको भरपर्दो माध्यम बनेको छ । यो व्यवसायबाट अधिकांश स्थानीयहरूको जीविकोपार्जन चलाउन सहज भएको देखिन्छ । घट्ट व्यवसाय थोरै लगानी र कम मेहनतबाट सञ्चालन गर्न सकिने व्यवसाय हो । गाउँघरमा अन्नबाट पिठो पिस्न घट्टबाट जीविकोपार्जन गर्न सजिलो भएको छ । पानीबाट सञ्चालन हुने घट्टमा काठको पुदालो तथा पाइपबाट सञ्चालन हुन्छन् । अहिले सबैको सजिलो र जीवनस्तरमा परिवर्तन गर्न समेत यसले ठुलो टेवा पुर्‍याएको देखिन्छ । यसबाट कतिलाई स्वरोजगार बन्ने बाटो खुलेको बताए । ३० वर्षदेखि घट्ट व्यवसाय सञ्चालन गर्दै आएका बारेकोटका भागिन्ते रावल । घट्टलाई व्यावसायिक रुपमा अघि बढाउँदा घर व्यवहार धान्न सहज भएको छ । घट्ट सञ्चालन गरेर जीवन गुजारा चलाउने परिवारको सङ्ख्या जाजरकोटमा १ हजारभन्दा बढी छ । यो व्यवसाय विशेष गरी यहाँका दलित समुदायको मुख्य पेसाको रुपमा रहेको छ ।

जग्गा जमिन तथा घर बासको अभाव हुने भएको हुँदा घट्ट व्यवसाय गरेर सानोतिनो गर्जो टार्दै आएको नलगाड–९ की घट्ट व्यवसायी मनकुमारी सिंहले बताईन ।अन्य विकल्प नभएपछि घट्टबाट गाउँलेहरूले पिठो, मकै, गहुँ, जौ लगायतको अन्नबाली उठाउँदै परिवारको गुजारा चलाउँदै आएका छन् । गाउँ गाउँमा सञ्चालन भएका घट्टको प्रवर्द्धन हुन भने सकेको छैन । पछिल्लो समय घट्टको लागि आवश्यक पर्ने पानीको स्रोत सुक्दै गएपछि समस्या भएको देखिन्छ । आधुनिक घट्टको विकास गर्न सके यसबाट सहज हुने बारेकोट–८ का वडा अध्यक्ष लालभक्त सिंहले बताए। गाउँ पिच्छे घट्ट सञ्चालनमा छन् । आर्थिक आम्दानी, सामाजिक ब्यवहार लगायत हिसाबले पनि यो पेसा धेरैको रोजाइ बन्न पुगेको छ । आधुनिक घट्टको विकास गर्न सके स्थानीयको जीवनस्तर परिवर्तन सहज हुने देखिन्छ ।

 

Translate »