कर्णालीबाट २ अर्बको चौपाया निर्यात

स्काई न्यूज / चैत १०, सुर्खेत ।
पछिल्लो समय कर्णालीका कृषक व्यवसायिकरुपमै पशुपालन क्षेत्रतर्फ आकर्षित हुँदै गएका छन् । सरकारी तथा गैरसरकारी संस्थाले अनुदानसँगै बजारीकरणमा सहयोग पु¥याएपछि कृषक पशुपालन क्षेत्रमा लाग्न थालेका हुन् । कृषक पशुपालनतर्फ आकर्षित भएपछि पछिल्लो ९ महिनामै २ अर्ब रुपैयाँको चौपाया निर्यात भएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा घरपालुवा चौपाया खसी, बोका, भेंडा र बाख्रा अत्याधिक निर्यात भएपछि कृषकको जीवनस्तरमा समेत सुधार हुँदै गईरहेको छ । कोरोना भाईरसका कारण निर्यातमा केही समस्या भएपनि गत वर्षको तुलनामा १५ प्रतिशत बढी चौपाया निर्यात भएको पशुपंछि निर्देशनालयका निर्देशक मोहन गिरीले जानकारी दिए । उनले चौपायालाई प्रदेशबाट बाहिर लैजानका लागि कृषकले भेटेनरी सर्टिफिकेट अथवा आधारपत्र लिएर जाने गरेपछि कर्णालीका चौपायाको माग अन्य प्रदेशमा तुलनात्मकरुपले उच्च रहेको बताए । उनका अनुसार अनुसार कर्णाली प्रदेश खसी र कुखुराको मासुमा आत्मनिर्भर बनिसकेको छ । ‘चालु आर्थिक वर्षदेखि प्रदेशबाट हप्तामा ६ हजार लिटर दुध समेत काठमाडौं निर्यात भइरहेको छ,’ उनले भने, ‘सरकारी अनुदानले युवाहरु पशुपालनतर्फ आकर्षित हुन थालेपछि उत्पादनमा समेत वृद्धि भइरहेको छ ।’ उनले वैदेशिक रोजगारीमा रहेका युवाहरु कोरोनाभाइरसको महामारीपछि गाउँ फर्किएर पशुपालन व्यवसायमा लाग्नेको संख्या बढ्दै गईरहेको जनाए ।

समग्रमा प्रदेशको करिब ६० प्रतिशत नागरिक पशुपालनमा निर्भर रहेको तथ्याङ्क मन्त्रालयसँग छ । पशु उत्पादन वृद्धि गर्न र युवाहरुलाई पशुपालनतर्फ थप आकर्षित गर्न चालु आर्थिक वर्षमा उन्नत जातका २ सयभन्दा बढी बोका वितरण गरिने योजना प्रदेश सरकारको छ । अस्टे«लिया र न्यूजिल्याण्डबाट बोयर जातका बोका खारिद गरेर कर्णालीका विभिन्न फर्महरुमा वितरण गरिने योजना छ । यसरी बोका खरिद गर्नका लागि लाग्ने कुल रकममा ८५ प्रतिशत रकम प्रदेश सरकारले लगानी गरिदिने छ भने १५ प्रतिशत रकम कृषक आफैले खर्चिनु पर्नेछ । त्यसका लागि प्रदेश सरकारले ४ करोड ६५ लाख रकम छुट्याएको छ भने पशुपंक्षी व्यवसाय सञ्चालनका लागि ७ करोड रकम विनियोजन गरिएको छ । प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यो आर्थिक वर्षमा पशुपंक्षी व्यवसाय प्रवद्र्धन सञ्चालनमा कृषकलाई सर्वसुलभ व्याज अनुदानका लागि भनेर ७ करोड रकम छुट्याएको छ । व्याजदरमा सहुलियत हुँदा व्यवसाय सञ्चालन गर्न टेवा पुग्ने अपेक्षा सहित आगामी आर्थिक वर्षमा निर्यातमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ भने सरकारले अब चौपाया उत्पादन बृद्धिसँगै बजारीकरणमा ध्यान दिन आवश्यक छ । प्रदेशमा उपलब्ध जनशक्तिलाई प्रदेशमै रोजगारी उपलब्ध गराउन र आयस्तर बढाउन उत्पादनमुलक क्षेत्रमा राज्यको लगानी बढाउँदै गएपछि अन्य क्षेत्रमा समेत आत्मनिर्भरता बढ्दै जाने प्रदेश सरकारले अपेक्षा राखेको छ ।

Translate »