सुर्खेतबाट पनि फेवाबजारको सेवा शुरु

स्काई न्यूज / चैत १०, सुर्खेत ।
फेवाबजार डटकम ई–कमर्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सेवा शुरु गरेको छ । अनलाइन सपिङ स्टोरफेवाबजारले वीरेन्द्रनगरमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो । वीरेन्द्रनगर–३, मुलपानीचोकमा रहेको फेवा बजारको १३ औं आउटलेटको सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष रावतले बजारमा नीजि क्षेत्रको बढ्दो उपस्थितिले कर्णालीको समृद्धिका लागि महत्वपूर्ण टेवा पुग्ने बताए । उनले आधुनिक परिवेशमा प्रदेशका उपभोक्ताको चाहना र भावनालाई मध्यनजर गर्दे फेवाबजारले सहज, सुलभ र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आउटलेट खोलेको अवसरमा फेवाबजारले चैत महिनाभरी कर्णाली प्रदेशभर सामान ढुवानीमा छुट दिने निर्देशक आचार्यले बताए । उनले कर्णालीका ग्राहकको मागलाई ध्यानमा राख्दै पाँच लाख रुपैयाँसम्मको क्रेडिट सुविधा समेत उपलब्ध गराईएको जनाए । उनका अनुसार कोरोना महामारीबाट थलिएका कर्णाली प्रदेशबासीलाई विभिन्न बैंकसँगको सहकार्यमा बिना धितो शून्य प्रतिशत ब्याजमा क्रेडिट सुविधा उपलब्ध गराईएको छ । ‘ ‘सेल्स आफ्टर सर्भाइस’ भन्ने मूल नारासहित सेवा सञ्चालन गर्दै आएको फेवाबजार डटकमले ३ वर्षअघि पोखराको दीप चोकबाट सेवा शुरु गरेको थियो,’ उनले भने, ‘फेवाबजारले हाल पोखरासहित लेखनाथ, बागलुङ, तनहुँको दुलेगौंडा, डुम्रे, काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, सुर्खेतलगायत देशभरका १३ वटा आउटलेटबाट सेवा दिइरहेको छ ।’ उनले फेवा बजार डटकमले लाखौं रुपैयाँ मुल्यसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको जानकारी दिए । उनका अनुसार मासिक किस्ताबन्दी (ईएमआई) मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो । घर–घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने उद्देश्यले फेवाबजार डटकमले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडोअर्स फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घरघरमा पु¥याउने सुर्खेत आउटलेट प्रमुख रोशन तिवारीले बताए । उनले फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले कर्णालीमा फेवाबजारलाई स्वागत गर्दे व्यवसायिक सफलताको कामना व्यक्त गरे ।