सुर्खेतमा मापसे जाँचमा कडाई गरिँदै

ट्राफिक प्रहरीको यात्रु सुरक्षा कार्यक्रम

स्काई न्यूज /चैत ११, सुर्खेत ।
सुर्खेत ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा अभियान शुरु गरेको छ । ट्राफिकले पहिले दिन बुधबार साँझ १३ जनालाई कार्वाहीससिहत १२ वटा सवारी साधन नियन्त्रणमा लिएको बताएको छ । पछिल्लो समय वीरेन्द्रनगर क्षेत्रमा साँझ परेपछि मादक पदार्थ सेवनले गरेर होहल्ला गर्नेको संख्या बढेपछि ट्राफिक प्रहरीले रात्रीकालिन जाँचलाई कडाई अभियान शुरु गरेको हो । ट्राफिकले करिब डेढ लाख मूल्यको मापसे जाँच गर्ने ‘ब्रेथ लाइजर’ मेशिनबाट बुधबार साँझदेखि अभियानलाई तीव्रता दिएको बताएको छ । पहिलो दिनमै मापसे गर्नेको संख्या एक दर्जन बढी फेला परेपछि थप कडाई गरिने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । उनले ब्रेथ लाइजरमा फुक्न लगाएर मापसे गरेको छ कि छैन भनेर छुट्याउने गरेको जनाए । उनका अनुसार साँझ परेपछि धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेकाले मापसेलाई कडाइ गर्न लागेको हो । ‘वीरेन्द्रनगर क्षेत्रमा साँझ परेपछि धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न सुर्खेत भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको समेत व्यवस्था मिलाएका छौं ।’ उनले सवारी चालकले सवारी नियम उलंघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरे । ट्राफिक प्रहरीले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रमा लिने र कानूनी कारबाही प्रक्रियालाई तीव्र बनाउने योजना समेत अघि बढाएको उनले बताए । उनका अनुसार सवारी साधनद्वारा हुने कुनैपनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गरिएको छ । ट्राफिक प्रहरी बुधबारदेखि लामो समय पश्चात मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु गरेको हो । सुर्खेत उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङलाई कडाईका साथ अगाडि बढाईएकाले नागरिक समाजसँगै सरोकारवालाई सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मापसे गरेर चलाएको सार्वजनिक बसमा भने अर्को चालक खोजेर यात्रुलाई गन्तव्यस्थलसम्म पठाउने काम गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले ट्राफिक प्रहरीको कामको प्रशंसा गर्दे साँझ परेको समयमा हुने दुर्घटना कमी गर्न मापसे जाँचसँगै हरेक सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गर्न माग गरेको छ । मञ्चका सदस्य डिलबहादुर खत्रीले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट छुट्ने अधिकाशं सार्वजनिक सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर मात्र बाहिर पठाउँन आग्रह गरे । ट्राफिक प्रहरीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दैनिक सवारी साधन जाँच गनुपर्ने उनको भनाई छ ।


नागरिकमैत्री ट्राफिक सेवा शुरु
सुर्खेत ट्राफिक प्रहरीले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान कार्यक्रम शुरु गरेको छ । ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको हो । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एव गतिबिधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यबहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मुल्याङ्कन पद्दति सहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरेको छ । ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७ बनाई लागु गरिएको प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनले आम सेवाग्राही एंव सडक प्रयोगकर्तासँग गर्ने आचरण व्यबहारमा थप सुधार गरि नागरिकमैत्री सेवा प्रवाहबाट समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरबृद्धि गर्न नागरिकमैत्री सेवा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे ।

 

Translate »