कर्णालीमा सामूहिक आत्महत्या प्रकरण : दुरुत्साहन मुद्दामा सुकीका श्रीमान् मानसिंह पक्राउ
गत २३ फागुनमा कर्णाली नदीमा भएको सामूहिक आत्महत्या प्रकरणमा मानसिंह बडुवाल पक्राउ परेका छन् । उनीमाथि श्रीमतीसहित चार सन्तानलाई आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ । ४ चैतमा मानसिंहविरुद्ध सुकीका भाइ बजिरबहादुर थापाले प्रहरीमा ज्यानसम्बन्धी कसुर ९आत्महत्या दुरुत्साहन०सम्बन्धी जाहेरी दिएका थिए । ६ चैतमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । दैलेखको आठबिस नगरपालिका–३ निलाइमकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेकी थिइन् । सो घटनामा सुकीका श्रीमान् मानसिंह मुख्य दोषी भएको भन्दै किटानी जाहेरी परेपछि आत्महत्या दुरुत्साहन मुद्दा अभियोगमा पक्राउ गरी छानबिन थालेको प्रहरीले जनाएको छ । कर्णालीमा सुकीसहित आठ वर्षीय छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता र पाँच वर्षीया छोरी रजनी बडुवालको शव फेला परेको थियो ।(नयाँ पत्रिका)