प्रदेश आयुर्वेद औषधालयमा चाहिएको जति औषधि पु¥याउनै सकस

आयुर्वेद उपचारतर्फ विरामीको भिड

स्काई न्यूज/ चैत १३, सुर्खेत ।
पछिल्लो समय आयुुर्वेद औषधि तथा उपचारतर्फ नागरिकको आकर्षण बढ्दै गईरहेको छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा उपचार लिन आउने बिरामीको संख्या वृद्धि भएसँगै औषधि पु¥याउन सकस भईरहेको छ । विगतका वर्षहरुको तुलनामा जाँदा उपचार लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएसँगै औषधि पु¥याउन समस्या भएको हो । अहिले दैनिक सय बढी नागरिक उपचार लिन आउने गरेको प्रदेश आयुर्वेद औषधालय सुर्खेतले बताएको छ । ‘कोरोना महामारी अघिका वर्षहरुमा आयुर्वेद औषधालयमा उपचार लिन आउने सेवाग्राहीको संख्या कमी हुने गर्दथ्यो । पहिला सबैको रोजाइ आयुर्वेद औषधालय भन्दा अन्य अस्पताल बन्ने गरेको थियो,’ औषधालयका कविराज निरीक्षक श्रीराम आचार्य भने, ‘अन्य अस्पतालमा उपचार लिन गएका बिरामीहरुले प्रयोग गरेको औषधिले उनीहरुको स्वास्थ्यमा असर देखापर्न थालेपछि पछिल्लो समय सबैको रोजाइमा आयुर्वेद औषधालय बन्न पुगेको हो ।’ उनले कर्णाली प्रदेश सरकारको सहयोगमा औषधालयको स्तरोन्नतीसँगै सेवा सुविधा बढाईएपछि नागरिकको आकर्षण थप बढेको जनाए । उनले भने, ‘अस्पतालमा आउने बिरामीहरुको संख्या बढेसँगै भएको जनशक्तिले बिरामी जाँच गर्न समस्या भएको छ । अस्पतालमा सरकारले प्रदान गरेको ३४ थरीका औषधिले पु¥याउन सकिएको छैन । अन्य औषधिको तुलनामा आयुर्वेद औषधि लामो समयसम्म सेवन गर्नुपर्ने, एकै बिरामीलाई धेरै किसिमका औषधि दिनुपर्ने भएकाले औषधि पु¥याउन समस्या भएको छ । अहिलेसम्म आउने बिरामीलाई त जेनतेन पु¥याएका छौं ।’


पछिल्लो समय औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न जाने बिरामीको संख्यामा समेत वृद्धि भएको छ । जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालमा समेत थेरापी मेसिन नभएका कारण उक्त सेवा बिरामीले पाउँदैनन् । अहिले औषधालयले थेरापी सेवा उपलब्ध गराएपछि सबैको रोजाइ आयुर्वेद औषधालय बन्न पुगेको औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले जानकारी दिए । ‘पहिला–पहिला आयुर्वेद अस्पतालको उपचार पद्धति मन नपराउनेहरुको विश्वास अहिले आयुर्वेदतर्फ बढेको छ । केही वर्षअघिसम्म केही मात्रामा मात्रै उपचार लिन आउने गर्दथे । अहिले पहिलाको जस्तो छैन,’ उनले भने, ‘नागरिकमा आयुुर्वेद उपचारप्रतिको मोह बढ्दै गईरहेको छ । दैनिक सरदर सयको संख्याको हाराहारीमा बिरामी उपचार लिन आउने गरेका छन् ।’ उनका अनुसार आयुर्वेद औषधालयमा ग्यास्ट्रिक, अमलपित्त, पायल्स, फिस्टुलाका बिरामी बढी मात्रामा आउने गरेका छन् । स्त्रीरोग, फिजोयोथेरापी र मौलिक थेरापी पूर्वकर्म पञ्चकर्मको सेवा लिन आउने सेवाग्राहीहरुको संख्या निकै हुँदा भएको जनशक्तिले काम गर्न समस्या भएको उनले बताए । यता औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले आयुर्वेद औषधि तथा उपचारप्रति नागरिक विश्वास युगौंदेखि रहि आएको जिकिर गरे । उनले समय सापेक्षित चिकित्सा क्षेत्रका विभिन्न उपचार पद्धतीको विकासले मानव जीवनमा सोचेभन्दा बढी प्रगति भएपनि अझै आयुर्वेद तर्फ अनुसन्धानसँगै लगानी बढाउनु पर्ने आवश्यक रहेको औल्याए । ‘प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय सेवा सुविधा बढेसँगै नागरिकको आकर्षण बढेपछि केही समस्याहरु थपिएका छन्,’ उनले भने, ‘औषधालयको भौतिक तथा जनशक्ति बृद्धिसँगै निःशुल्क औषधि वितरणका लागि सरकारले बजेट बढाउनु अति जरुरी छ ।’ उनले प्रदेश आयुर्वेद औषधालयलाई अपर्याप्त रहेको परिप्रेक्षमा प्रदेशका दश वटै जिल्लास्थित आयुर्वेद केन्द्र, स्थानीय तह र नागरिक आरोग्य केन्द्रलाई औषधि वितरण गर्नुपर्ने जिम्मेवारीले थप हैरानी बनाएको जानकारी दिए । उनका अनुसार औषधालयलाई प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप रकम बढाउनु पर्ने देखिन्छ ।

Translate »