अछामका विभिन्न विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम

चैत १४,अछाम।
अछाम प्रहरीले जिल्लाका विभिन्न ठाउँमा प्रहरी –विद्यालय सम्पर्क कार्यक्रम गरिरहेको छ । विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई विभिन्न कानुनी प्रावधानबारे जानकारी दिन कार्यक्रम भैरहेको अछामका प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । शुक्रबार जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनिमा रहेको देविमाण्डु माध्यमिक विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम गरि साईबर कानुन, घरेलु हिंसा, ट्राफिक नियम लगायतका विषयमा जानकारी गराईएको छ । जिल्ला प्रहरी कार्यलय अछाम र प्रहरी चौकी चौखुट्टेको आयोजनामा विद्यालयका प्रधानाध्यापक झंकर बहादुर खड्काको अध्यक्षता तथा वडा अध्यक्ष मने साउदको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अधिकारीको सहभागिता रहेको थियो । तालिम केन्द्रका समादेशक मुकेश कुमार सिंह, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी योगेन्द्र सिंह थापा, प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्याल लगायतले कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए।विद्यालयमा अध्यनरत विद्यार्थीहरु, अभिभावकहरु र सरोकारवाला निकायहरुको उपस्थितिमा साईबर क्राइम सम्बन्धी विस्तृत जानकारी तथा अन्य कानुन प्रावधानबारे जानकारी गराईएको थियो । प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा कार्यक्रम गरि कानुनी जानकारी तथा अपराध नियन्त्रणबारे सचेतना फैलाईरहेको अछाम प्रहरी प्रमुख डिएसपी अर्यालले जानकारी दिए । अछाम प्रहरीले जिल्लाका विभिन्न ठाउँमा होर्डिङ् बोर्ड मार्फत पनि जनचेतना जगाउने कार्य गरिररहेको छ । साईबर कानून, ट्राफिक नियम, लैंगिक तथा घरेलु हिंसा, अपराध न्यूनीकरण लगायतका विषयमा होर्डिङ बोर्ड मार्फत जानकारी गराउने कार्य भैरहेको प्रहरीले जनाएको छ । केही समय पहिले सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमकुमार सुवेदी सहितको टोलीले पनि जिल्लाका सरोकारवालासंग छलफल गर्दै जनकल्याण मावि साँफेबगर र जाल्पादेवि मावि ढाँकुमा विद्यार्थी, शिक्षक, अभिभावकसंग अन्तरक्रिया गरि विभिन्न कानुन प्रावधानबारे जानकारी गराईएको थियो । चालु आर्थिक बर्षमा अछाम प्रहरीले जिल्लाका करिब ३ दर्जन विद्यालयमा प्रहरी विद्यालय कार्यक्रम गरिसकेको कार्यालयले जनाएको छ ।


 

Translate »