सुर्खेतमा मापसे चेकजाँच कडाई गरिँदै

 

स्काई न्यूज/ चैत १४, सुर्खेत ।
सुर्खेत ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेक जाँचमा कडाई गरेको छ । वीरेन्द्रनगर क्षेत्रमा साँझ परेपछि मादक पदार्थ सेवन गरि होहल्ला गर्नेको संख्या बढेपछि ट्राफिक प्रहरीले बुधबारदेखि होली पर्व लक्षित मापसे चेकजाँच अभियानलाई कडाई गरेको हो । सवारी दुर्घटना न्यूनिकरणसँगै यात्रु सुरक्षा कार्यक्रम अन्तर्गत हालसम्म मापसे गरेका ५३ जनालाई कार्वाही गर्नुका साथै १ सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बताएको छ । साँझ परेपछि ट्राफिकले ‘ब्रेथ लाइजर’ मेशिनबाट मापसे चेक जाँचलाई कडाई गरेपछि रात्रीकालिन होहल्ला गर्नेहरुमा कमी आएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य डिलबहादुर खत्रीले जनाए । उनले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै वीरेन्द्रनगरको नयाँ बसपार्कबाट छुट्ने सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र बाहिर पठाउन सुझाव दिए । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक उपेन्द्रप्रसाद आचार्यले सडक दुर्घटना न्यूनिकरणसँगै सुरक्षित यात्रा बनाउन ब्रेथ लाइजरमा फुक्न लगाएर मापसे गरेको छ कि छैन भनेर छुट्याउने गरेको बताए । उनले वीरेन्द्रनगर आसपासका क्षेत्रमा साँझ परेपछि धेरै मानिसहरु मापसे गरेर सवारी चलाउने र दुर्घटना हुने गरेकाले मापसे चेकजाँच अभियानलाई कडाइ गरिएको जनाए ।

‘वीरेन्द्रनगर क्षेत्रमा साँझ परेपछि धेरै मापसे सेवन गर्ने र लापरबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे चेकजाँच गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘सवारी साधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न समेत सुर्खेत भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको अभियानलाई अघि बढाएका छौं ।’ ट्राफिकले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रमा लिने र कानूनी कार्बाही प्रक्रियालाई तीव्र बनाउँदै होली पर्वलाई सुरक्षित बनाउन सुर्खेत प्रहरीसँगको सहकार्य जारि राखिएको उनको भनाइ छ । उनले सवारी साधनद्वारा हुने कुनैपनि नराम्रा गतिविधि हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गरिएको बताए । वीरेन्द्रनगरका विभिन्न ठाउँमा मापसे चेकजाँचलाई कडाईका साथ अगाडि बढाईएकाले नागरिक समाजसँगै सरोकारवालासँग सहयोग तथा समन्वयका लागि सुर्खेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Translate »