सामाजिक सुरक्षा कोषमा एक लाख ९४ हजार श्रमिक सूचीकृत

 

चैत १६,काठमाडौँ ।
सरकारले स्थापना गरेको सामाजिक सुरक्षा कोषमा हालसम्म एक लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन् । कोषमा सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख ४५ हजार ४५२, प्रदेश नं १ बाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार ७९५, गण्डकीबाट सात हजार १५४, लुम्बिनीबाट छ हजार ८३९, सुदूरपश्चिमबाट ७७५ र कर्णालीबाट ४७० योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा आबद्ध हुने रोजगारदाताको सङ्ख्या भने १३ हजार ६१६ पुगेको छ । यस अन्तर्गत वाग्मती प्रदेशका नौ हजार १००, प्रदेश नं १ का एक हजार ८६०, लुम्बिनीका एक हजार १८०, प्रदेश नं २ का ५५०, गण्डकीका ६१७, कर्णालीका १४३ र सुदूरपश्चिमका १६६ छन् । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झन्डै पाँच करोड भुक्तानी गरेको जनाएको छ । विभिन्न चार योजना अन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यही चैत ११ गतेसम्म कोषमा चार अर्ब ८० करोड योगदान रकम सङ्कलन भएको छ । सामाजिक सुरक्षा कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाताबाट र ११ प्रतिशत श्रमिकका तर्फबाट गरी ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

Translate »