दृष्टिविहिनलाई घर बनाउन आर्थिक सहयोग

स्काई न्यूज /चैत १७, सुर्खेत ।
मध्यपश्चिम सेवा समाज–जिफन्ट सपोर्ट गु्रप दक्षिण कोरिया र कुवेतले दृष्टिविहिनलाई आर्थिक सहयोग गरेको छ । ग्रुपले मंगलबार घरबासविहिन चौकुने गाउँपालिका–९, घाटगाउँ निबासी जन्मजात दृष्टिविहिन कविराम ढुंगानाको परिवारलाई घर निर्माण गर्न ४ लाख ७३ हजार रुपैंयाँ सहयोग गरेको हो । मध्यपश्चिम सेवा समाज–जिफन्ट सपोर्ट गु्रप कुवेत, दक्षिण कोरिया र भारतमा रहेका श्रमिकबाट संकलित रकम चौकुने गाउँपालिका–९ नम्वर वडाध्यक्ष नवराज जैशीको रोहवरमा जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसी र दक्षिण कोरिया सपोर्ट ग्रुपका निर्वतमान अध्यक्ष लोकेश खत्रीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । जिफन्ट प्रदेश अध्यक्ष जिसीले कुवेतमा क्रियाशील गणेश रावत, भूपेन्द्र सारु, दुर्गा ढकाल, स्वदेश तथा विदेशमा रहेका श्रमिकबाट संकलित रकम घरबारविहिन ढुंगानाको परिवारलाई सानो सहयोग हस्तान्तरण गरिएको जनाए । हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष जैशीले हरेक क्षेत्रबाट सहयोग, समन्वय र सहकार्यका लागि सहयोगी संघ संस्था र व्यक्तिप्रति विशेष धन्यवाद व्यक्त गरे । त्यस्तै दक्षिण कोरियाका निवर्तमान अध्यक्ष खत्रीले सामाजिक अभियान्ता आशाराम ढुंगानाको एकल प्रयासबाट २ लाख १ हजार रुपैयाँ संकलन गरी ढुंगाना परिवारलाई बाख्रा समेत हस्तान्तरण गरिएको बताए । दृष्टिविहिन कविरामको श्रीमती र तीन छोरा गरी पाँच जनाको परिवार रहेको घर निर्माण सहयोगका संयोजक रंगप्रसाद ढुंगानाले जानकारी दिए ।
