कर्णालीका किसानलाई शिखर इन्स्योरेन्सको साढे २ करोड दाबी भुक्तानी

काठमाडौं (अस) । शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे २ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालीकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । जुम्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको कम्पनीले बताएको छ ।यसैगरी प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले कालीकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालीकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बीमा गराएका थिए । मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बीमा गरेबापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् । जुम्ला शाखाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए । कर्णालीका किसानले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरूले अहिले दाबी भुक्तानी पाएका हुन् । शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकको आधारमा गरिने बीमामा स्याउ खेतीका लागि कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो ।

Translate »