तुवाँलोका कारण हुम्लामा उडान प्रभावित

चैत २४,हुम्ला ।
बाक्लो तुवाँलोका कारण हुम्लामा हवाइ उडान प्रभावित भएको छ । तुवाँलोका कारण सिमकोट विमानस्थलबाट सुर्खेत तथा नेपालगञ्ज हवाइ उडान हुन नसकेको हो । बिहानदेखि नै नेपालगन्ज र सुर्खेत विमानस्थल क्षेत्रमा बाक्लो तुवाँलो लागेपछि हुम्लामा कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलको भिजिबिलिटी ५ किलोमिटर हुनुपर्ने भएपनि तुवाँलोका कारण ३ किलोमिटर मात्रै भिजिबिलिटी भएपछि उडान हुन नसकेको उनको भनाइ छ । अहिले नेपालगञ्जमा तुवाँलो हटेको भएपनि सिमकोटमा तीव्र हावाका कारण कुनै पनि उडान हुन नसकेको हो । हवाई सेवा प्रभावित भएपछि नेपालगञ्ज र सुर्खेतबाट हुम्ला पुग्ने यात्रु अलपत्र परेका छन् । दैनिक उपभोग्य सामग्री तथा अन्य विकास निर्माणका सामाग्री ढुवानी गर्न समस्या भएको व्यापारी छिरिङ लामाले बताए । सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् । सिमकोट विमानस्थलका लागि तारा, सीता, समिट र नेपाल एयरलाइन्सका विमानले उडान भर्दै आएका छन् । हुम्लाका लागि विमानले दैनिक १० देखि १५ वटा उडान भर्ने गरेका छन् । दुई दिनदेखि हवाइ सेवा बन्द हुँदा तरकारी, मासुजन्य पसबाट पनि सेवा दिन समस्या भएको व्यापारी सरोज रावतले बताए । (कान्तिपुर)

 

Translate »