अनलाइन कक्षा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

सीसीएमसीले निर्णय लिने

चैत २८,काठमाडौँ ।
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको दोस्रो लहर रोक्नका लागि सरकारले सहरी क्षेत्रमा हुने भीडभाड रोक्ने र भारतबाट हुने आवतजावतमा कडाइ गर्नका लागि निर्णयको तयारी गरेको छ । यसका लागि ठूला सहरहरूमा विद्यालय अनलाइन कक्षा सञ्चालन गर्ने र भारतबाट आउनेहरूलाई कडाइ गर्ने निर्णय गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको छ । शनिबार ४ बजे कोभिड( १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बस्ने बैठकका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ को दोस्रो लहरको जोखिम कम गर्ने योजना प्रस्ताव तयार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले विद्यालय सञ्चालन कसरी गर्ने भन्ने प्रस्ताव तयार भएको र सीसीएमसी बैठकमा प्रस्तुत गरिने बताए । मन्त्री त्रिपाठीले भने, सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरौं भन्ने प्रस्ताव तयार भएको छ । काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्जलगायतका सहरमा त्यसो गरौं भन्ने प्रस्ताव हो । त्यसको निर्णय सीसीएमसीले गर्नेछ ।

ग्रामीण क्षेत्रमा भने विद्यालय सञ्चालन गर्ने नै योजना रहेको बताइएको छ । अब पठनपाठन भने बन्द गर्न नहुने भन्ने सरकारको योजना रहेको बताइएको छ । काठमाडौं लगायतका ठूला सहरहरूमा विद्यार्थीको आवतजावत ठूलो हुने र विद्यालयमा पनि भीडभाड हुने भएकाले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सरकारको तयारी छ । मन्त्री त्रिपाठीले सरकार अब सकेसम्म लकडाउन नगर्ने भन्ने प्रयत्नमा रहने बताए । उनले यसअघि प्रतिनिधिसभाको बैठकमा पनि कोरोनाको दोस्रो लहर आएपनि पहिलेजस्तो लकडाउन गर्ने योजना नरहेको र सकभर त्यो अवस्था नआओस् भन्ने प्रयत्न सरकारको रहने बताएका थिए । उनले आर्थिक रूपमा क्षति हुने भएकाले सरकार लकडाउनमा जाने परिस्थितिमा जान नहुने धारणा राखेका थिए । त्यस्तै, भारतबाट संक्रमित नेपाल प्रवेश गर्ने भएकाले त्यसमा कडाइ गर्ने प्रस्ताव मन्त्रालयले सीसीएमसीमा लगिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


भारतबाट बढी आवतजावत हुने सुदूरपश्चिम, लुम्बिनीलगायतका प्रदेश र वीरगञ्ज लगायतका सहरमा कडाइ गर्ने योजनामा सरकार रहेको छ । यसअघि पनि पहाडी क्षेत्रमा कोरोना संक्रमण कम देखिएकोले त्यहाँ भने विद्यालय बन्द गर्ने तथा अन्य रोकावट नलगाउने तर सचेतता भने अपनाउने सरकारको योजना रहेको मन्त्रालयका अधिकारीले बताएका छन् । पछिल्लो समय पोखरामा पनि कोरोना संक्रमित बढी देखिएकाले त्यहाँ भने सचेतता अपनाउने मन्त्रालयको प्रस्ताव तयार भएको छ । मन्त्रालयले तयार पारेका प्रस्तावमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार ४ बजे बस्ने सीसीएमसीको बैठकले कोरोना भाइरसको दोस्रो लहरलाई कसरी रोक्ने र यसबारे अन्य निर्णय गर्ने बताइएको छ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भेला नगर्न निर्देशन जारी गरेको छ । मास्क लगाउने, पटकपटक हात धुने लगायतका सचेतता अपनाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।(कान्तिपुर)

 

Translate »