यसरी गर्न सकिन्छ घरको इन्टेरियर डिजाइन
काठमाडौं । घर कस्तो बनाउने, त्यसलाई कस्तो डिजाइन तथा आकार दिने र त्यसभित्रको डिजाइन कस्तो खाले बनाउने भन्नेजस्ता कुरा बजेटमा भर पर्छ । कतिसम्म खर्च गर्न सकिन्छ, त्यहीअनुसार घरको इन्टेरियर डिजाइन गर्न सकिन्छ । इन्टेरियर डिजाइन नगरी साधारण सजावट गरेर मात्रै पनि बस्न सकिन्छ । तर, इन्टेरियर डिजाइन गरेपछि भने लाइट, कलर, डेकोरेसनले घरलाई थप आकर्षक, आरामदायी हुन सघाउँछ । घर बाहिर गर्ने हो भने त्यसलाई ल्यान्डस्केप डिजाइन भनिन्छ । इन्टेरियर डिजाइन पनि पेसा बनिसकेकाले पहिला ती व्यवसायीसँग सम्पर्क गर्नुपर्छ, जसले यो पेसा अँगालेका छन् । उनीहरूले घरको अवस्थालाई हेरेर मात्रै कति खर्च लाग्छ, कुन खालको डिजाइन गर्दा घर थप आकर्षक देखिन्छ र आरामदायी हुन्छ भन्ने विषयमा सल्लाह दिन सक्छन् । घरको अवस्था हेरेर र इन्टेरियर डिजाइन गर्दा सस्तो, औसत र महँगो कस्तो प्रयोग गर्ने हो भन्ने कुराले बजेट निर्धारण गर्ने इन्टेरियर डिजाइनसमेत गर्दै आएका होम डिजाइनर नेपाल प्रालिका आर्किटेक महेन्द्रराज खत्री बताउछन् ।
यसबाहेक इन्टेरियर डिजाइन गर्दा नै मेटरियल र डिजाइनको छुट्टै रकम घरधनी तथा ग्राहकले तिर्नुपर्छ । उनका अनुसार घरमा कस्तो खाले डिजाइन गर्ने हो त्यसअनुसार डिजाइनकै न्यूनतम प्रतिएक स्क्वायरफिट बराबर एक सयदेखि माथि रकम लाग्छ । यसमा मेटरियलको रकम भने जोडिँदैन । इन्टेरियर डिजाइन नगरेरै पनि मानिस घरमा बसेका हुन्छन् । घरको डिजाइन तथा त्यसका विषयमा विस्तृत अध्ययन गरी र कस्तो खाले मेटरियल प्रयोग गर्ने हो, यसले बजेट निर्धारण गर्छ । घरको भान्सादेखि बेड रुम, बैठक रुमलाई इन्टेरियर डिजाइनबाट थप आकर्षक बनाउन सकिन्छ । तर, घर बनाउनेबित्तिकै इन्टेरियर डिजाइन गर्नुपर्छ भन्ने पनि हुँदैन किनभने बजेटले नभ्याउन सक्छ । विस्तारै लगानी जुटाएर पछि गर्न सकिने भएकाले हतार गर्नुपर्दैन । घरलाई आकर्षक बनाउन भने इन्टेरियर डिजाइन आवश्यक मानिन थालेको छ । घर, अफिस, बैंक, अस्पताललगायत जुनसुकै व्यावसायिक भवनमा इन्टेरियर डिजाइन गर्दा सोहीअनुसारको खर्च तथा बजेट आवश्यक पर्छ । उपभोक्ताले घरका कोठाको आकारअनुसार पनि साना–ठूला खाले सामग्री प्रयोग गर्नुपर्छ । सामग्री छनोटले पनि आकर्षण तथा सजावटमा योगदान दिन्छ । (आर्थिक अभियान)