२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 30, 2026

कार्यकाल सकिएको ४ बर्षपछि अछाम उद्योग वाणिज्य संघको अधिवेशन हुँदै



चैत ३१,अछाम ।
कार्यकाल सकिएको झण्डै चार बर्षपछि अछाम उद्योग बाणिज्य संघले जिल्ला अधिवेशन गर्न लागेको छ । २०७१ सालमा अधिवेशन गरि ७४ सालमा कार्यकाल सकिएको संघले २०७८ बैशाख २४ र २५ गतेका लागि अधिवेशनको मिति तोकेको हो । कार्यकाल सकिएपछि संघ स्वतः निष्क्रिय हुने कानूनी प्रावधान छ । यसका बाबजुद कार्य अवधि सकिएको करिब ४ बर्षसम्म कार्यकाल सञ्चालन गरेको संघले जिल्ला प्रशाशन कार्यालय र अन्य व्यापारीको दबावपछि चौथो जिल्ला अधिवेशन तथा तेस्रो सधारण सभा गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष, अधिवेश आयोजक तदर्थ समिति संयोजक महेन्द्र बहादुर कडायतले जानकारी दिए । संघले यसअघि २०७६ फागुनमा अधिवेशन गर्ने मिति तोकेकोका अन्तिम समयमा अनिश्चितकालका लागि अधिवेशन स्थगित गरेको थियो । यस्तै यही चैत्र २९ गते अधिवेशन गर्ने भन्दै त्यसको २ दिन अघि मात्रै सुचना जारी गरेकोमा जिल्ला अधिवेशन २ दिनको समयाअवधि राखेर गर्न खोज्नु अवैधानिक कार्य भएको र गर्न नमिल्ने भन्दै व्यापारीले बिरोध गरेपछि जिल्ला प्रशाशनको रोहवरमा अधिवेशन स्थगित गरिएको थियो ।

संघको विधानमा चुनावी अधिवेशन गर्न कम्तिमा ३० दिन अगाडि सुचना जारी गर्नुपर्ने प्रावधान छ । जिल्ला प्रशाशन कार्यालयमा व्यापारीवीच छलफल गरि पुरानो समिति भंग गर्दै अधिवेशन गर्नको लागि ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तर्दथ समितीका संयोजक एवंम् संघका कार्यबाहक अध्यक्ष कडायतको अध्यक्षतामा बसेको बैठकले बैशाख २४ र २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अछाम उद्योग बाणिज्य संघले सूचना जारी गर्दै साधारण सभा तथा अधिवेशनमा भाग लिनका लागि २०६१ देखि २०७७ असार ३० गते सम्म आवद्ध व्यापारीले मतदान गर्न पाउने संघका महासचिव तथा तदर्थ समिति सदस्य बम बहादुर रावलले जानकारी दिए । बैशाख १ गते देखि १५ गते सम्म सदस्यता नवीकरण गर्न सकिने र त्यसका लागि प्यानको प्रतिलिपी, घरेलु दर्ता प्रमाण पत्र नविकरण भएको प्रतिलिपी, २ प्रति फोटो आवश्यक पर्ने जनाएको छ । संघले आफ्ना नियमित कार्य नगरेको भन्दै व्यापारीहरु असन्तुष्ट बनेका थिए । नियमित रुपमा गर्नुपर्ने बार्षिक साधारण सभा, चुनावी अधिवेशन लगायतका कार्य नगरेको भन्दै व्यापारीले आलोचना गर्दै आएका थिए । पछिल्लो समय पनि जिल्ला प्रशाशन कार्यालयमा अधिवेशन नगरेको र कार्यकाल सकिएको ४ बर्ष भैसक्दा समेत कुनै पहल नगरेको भन्दै उजुरी परेकाले जिल्ला प्रशासन कार्यालयले ताकेता गरेको थियो । २०७१ सालमा भएको अधिवेशनबाट चन्द्रप्रसाद ढुंगाना निर्वाचित भएकोमा उनले राजीनामा गरेपछि तत्कालीन उपाध्यक्ष रामबहादुर शाहीलाई कार्यवाह अध्यक्ष बनाईएको थियो । शाही २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष भए पछि कडायत कार्यवाहक अध्यक्ष चयन भएका थियो ।

 

प्रकाशित मिति : २०७७ चैत ३१ गते मंगलबार
Translate »