नयाँ वर्षको माहोल सडकमा चहलपहल, होटलमा सुनसान

स्काई न्यूज / चैत ३१, सुर्खेत ।
नेपाली नयाँवर्षले धपक्कै छोपिसकेको छ । दुईवर्ष अघिसम्म यो बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै मुगु, जुम्ला, दैलेखमा आन्तरिक पाहुनाको घुइँचो लाग्थ्यो । विद्यार्थी, क्लव, आमा समुह, विभिन्न संघसंस्थाबाट यो बेला घुम्न आउँदा यहाँ भीडभाड बढ्थ्यो । यहीबेला पर्यटकीय सिजन पनि पर्ने भएकोले विदेशी पाहुना पनि पर्याप्त आउँथे । विदेशीको त्यही भीडभाडमा आन्तरिक पनि थपिँदा यहाँका होटल र रेस्टुरेन्टलाई व्यवसाय धान्न समेत धौ धौ हुन्थ्यो । तर, कोरोना भाइरस संक्रमणले नेपाली नयाँ वर्षको पोहोर र यो पटक पर्यटकीय क्षेत्रमा खल्लोपन छ । पोहोर त यो बेला पूर्ण लकडाउन नै थियो । त्यसले गर्दा पाहुना आउने अवस्था नै थिएन । यो पटक लकडाउन त छैन, तर, पाहुना भने खुलेर भित्रिन सकेका छैनन् । यहीबेला कोरोनाको त्रास बल्झिँदा चाहेर पनि पाहुना घुम्न निस्कन पाएका छैनन । विदेशीको त आगमन ठप्प झैं छ । खुलमखुला रुपमा हिडडुल गर्न नपाएपनि पर्यटकीय क्षेत्रमा भित्रिएका सिमित आन्तरिक पाहुनाको कारणले केही चहलपहल भने बढाएको व्यवसायी बताउँछन् । कोरोना त्रास बढेको भन्दै सरकारले यहीबेला भीडभाडमा नजान र सर्तकता अपनाउन नागरिकलाई अनुरोध गरिहरँदा सबै आन्तरिक पाहुनाले घुमघामका लागि निस्कने आँट नगरेको व्यवसायी बताउँछन् । फाट्टफुट्ट समुह र केही व्यक्तिगत तथा परिवारसहित घुमघाममा आएपनि त्यसले पोखरालाई उत्तिसारो उत्साही बनाउन सकेको छैन । थोरै आकारमा आएका आन्तरिक पाहुनाले व्यवसायमा केही राहत त दिएको छ, तर, कोरोना त्रास बढिरहँदा आउन चाहेका पाहुना पनि हिडडुल गर्न नपाएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । ‘रारा जानका लागि केही चहलपहल त बढेको देखिन्छ । तर, चहलपहल बढाउने यी पाहुना सबै बाहिरबाट घुम्न आएका होईनन् ।

स्थानीय पाहुनाले पनि चमक बढेको देखिएको हो ।’ उनले नयाँवर्ष मनाउने बहानामा कर्णाली भित्रिएका आन्तरिक पाहुनाबाट पर्यटनले यतिबेला गज्जबको लाभ लिने गरेको भएपनि यो पटक अवस्था सहज नभएको जनाए । सडकमा चहलपहल देखिएपनि होटलमा भने उत्तिसारो पाहुना नभएको उनले सुनाए । ‘अघिल्ला महिनासम्म यो बेला आन्तरिक पाहुनाको आगमन केही बढेको थियो । यो बेला नयाँवर्ष मनाउन आन्तरिक पाहुना आउने हुँदा लाभ लिन सकिन्थ्यो,’ अध्यक्ष शाहीले भने, ‘तर, त्यो भन्दा फरक अवस्था आइप¥यो । यहीबेला कोरोना त्रास बढेको छ । सरकारले सचेत हुन आग्रह गरिरहेको छ । त्यहीकारण पनि यतिबेला आन्तरिक पाहुना सोचेजति आउन सकेनन् ।’ यो बेला कोरोना त्रास नहुँदो हो त नेपाली नयाँवर्ष मनाउन आन्तरिक पाहुना पर्याप्त आउँथे । तर, अहिले भने पाहुना घुमफिरमा निस्कन डराएको उनले बताए । ‘अझैपनि होटलका एकाध कोठामा मात्र पाहुना छन्, जुन पर्याप्त होईन,’ उनले भने । नेपाली नयाँवर्षमा कर्णालीमा आन्तरिक पाहुना आकर्षण गर्न विभिन्न कार्यक्रम पनि आयोजना हुने गरेका थिए । तर, कोरोना त्रासका कारण पोहोर र यो पटक महोत्सव जस्ता कार्यक्रम आयोजना पनि हुन सकेनन् । केही होटल र रेस्टुरेन्टले आन्तरिक रुपमा पाहुना आकर्षण गर्न कार्यक्रम राखेपनि ती सिमित ठाउँमा मात्र हुनेछन् । अरुबेला खुलमखुला आयोजना हुने कार्यक्रम अहिले आयोजना गरिएको छैन । ‘संक्रमणको त्रासले नै गर्दा व्यवसायी नै त्रसित हुनु परेको छ,’ शाहीले भने । उनको अनुभवमा यो बेला कर्णालीमा रमाउनका लागि आन्तरिक पाहुनाको आगमन राम्रै हुन्थ्यो । यो बेला ६० प्रतिशत आन्तरिक र बाँकी भारतीय र तेश्रो मुलुकको पाहुना आउँदा प्रदेश राजधानी सुर्खेतसँगै अन्य जिल्लामा पाहुनाको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारीमा हुने गरेको भएपनि कोरोनाले गर्दा यो पटक पनि सुखद हुन नसकेको उनले बताए । ‘पछिल्लो दुईसाताको अन्तरमा पनि पाहुनाको आगमनमै फरक देखिएको छ,’ उनले भने । कर्णालीमा पाहुना कम आउन नसक्नुको मुख्य कारण कोरोनाको त्रास र खराब मौसम रहेको छ । ‘यहीबेला मौसममा पनि खराबी आएको छ । हिडडुल नै सहज हुन सकेन,’ होटल व्यवसायी भगत बडुवालले भने । उनका अनुसार सुर्खेतमा यो बेला आन्तरिक पाहुना त छन्, तर, पर्याप्त छैनन । ‘सडकमा केही भीडभाड त देखिन्छ । तर, तीमध्ये कतिपय पाहुना स्थानीय पनि हुन् । बाहिरबाट यो बेला पर्याप्त आउँथे, तर, अहिले त्रासले गर्दा पनि आउन चाहेर पनि आएनन,’ उनले भने । कोरोनाको दोस्रो लहरको हल्लासँगै व्यवसायमा गिरावट आएको उनले बताए । ‘सरकारले नै भीडभाड नगर्न भनेको छ । पाहुना निस्फिक्री तरिकाले घुमफिरमा निस्कन हच्किएका छन् । होटलमा बस्ने पाहुना कम छन,’ उनले भने, ‘रेस्टुरेन्टमा स्थानीय पाहुना पनि झरेका छन् । यो बेला रेस्टुरेन्टमा राम्रो आगमन भएपनि होटलमा खासै छैनन् ।’