कर्णालीमा मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगियो

बैशाख ३, सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन । शुक्रबार (आज) कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा आश्चर्यजनक ढंगले नेकपा एमालेका ४ सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उनले विश्वासको मत प्राप्त गरेका हुन् । नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर कर्णाली सरकारलाई जोगाई दिएका हुन् । प्रदेश सभामा कायम ३९ सांसद मध्ये मुख्यमन्त्री शाहीको पक्षमा–२२ मत र विपक्षमा –१७ मत खसेको थियो । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गर्नु भएको थियो । २०७७ असोज २५ गते तत्कालीन नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गरेसँगै शुरु भएको सत्ता संघर्ष आज (शुक्रवार) टुङ्गगिएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै
कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका ४ सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरु भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारवाहीको सिफारिस गर्ने तयारी भएको एमाले स्रोतले बताएको छ । पार्टीका ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएपछि उनीहरुलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए । यता कर्णाली सरकारले विश्वासको मत लिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेल आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । पार्टीका जिम्मेवार नेताहरुले राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिए । उनले भने, ‘यस्तो होला भन्ने सोचिएको थिएन । हाम्रा साथीहरुबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौं ।’

Translate »