एमाले कर्णालीका तीन सांसदलाई कार्वाही
स्काई न्यूज/ बैशाख ४, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीले आफ्ना तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ । एमाले कर्णालीको शनिबार सुर्खेतमा बसेको बैठकले प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको हो । ह्वीप उल्लंघन गरी गद्दारी गरेको ठहर गर्दै उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरिएको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख वोगटीले बताए । उनले पार्टीको ह्वीप उल्लंघन गर्ने अर्का सांसद प्रकाश ज्वालालाई पनि निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने बैठकले निर्णय गरेको जानकारी दिए । उनका अनुसार संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाई उनीहरुमाथि २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी कार्वाही गरिएको हो ।