मास्क अनिवार्य गर्दै सुर्खेत प्रशासन
स्काई न्यूज /बैशाख ८, सुर्खेत ।
सुर्खेतमा दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढेपछि मास्क अनिवार्य गरिएको छ । जिल्ला कोभिड—१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको अनुगमन समितिले बुधबार दिउँसो केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको हो । वीरेन्द्रनगर बजार क्षेत्रका पसल पुगी विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क लगाएको पाइएपनि केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार केहीले मास्क प्रयोगमा बेवास्ता गरेको हुँदा अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताए । उनले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले मास्क लगाउन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण निकायसँगै आग्रह गरे ।
स्वीमिङ पुलको अनुगमन
टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलको पनि अनुगमन गरेको छ । शुभ होटल, ट्रकोमा रिर्सोट र सिद्धार्थ होटलको स्वीमिङ पुल अनुगमन गरिएको छ । ती होटलहरुले सोमवारदेखि नै स्वीमिङ पुलहरु बन्द गरिसकेको जानकारी दिएका छन् ।
खोप लगाउने कार्यको अनुमगन
टोलीले प्रदेश अस्पतालमा सञ्चालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ । प्रदेश अस्पतालमा मंगलवार ६ सय ४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको र बुधवार पनि त्यतिकै संख्यामा पुग्ने जनाइएको छ । अनुगमनमा प्रजिअ रिजालसहित प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिग्बिजय सुवेदी, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका कोरोना फोलक पर्सन उदय विसी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलको सहभागिता रहेको थियो ।