स्थायी समिति पुनर्गठन, कर्णालीका चार सांसदलाई कार्वाही

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना प्रदेश सांसदलाई सांसद पदबाट मुक्त गर्ने निर्णय गरेको छ । फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सरकार जोगाइदिएका एमालेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद पद नरहने गरी एमालेले कारबाही गरेको हो । सो निर्णय कार्यान्वयन गर्न कर्णाली प्रदेशसभा सचिवालयलाई लिखित पत्र पठाइने भएको छ ।

यसै गरी बैठकले एमाले स्थायी समिति पुनर्गठन पनि गरेको छ । अब एमालेको स्थायी समितिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुभाष नेम्वाङ, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पाराज कँडेल र मणि थापा रहेको छन् । एमाले स्थायी समितिमा माधव नेपाल समूहका कोही पनि परेका छैनन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैशााख ६ गतेको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठानिक प्रस्तावमा छलफल हुने बुझिएको छ । बैठकले केन्द्रिय सदस्यहरूको कार्य विभाजन समेत गर्ने बताइएको छ ।

Translate »