बड्डीचौर–गुटु–बेनिघाट सडक : तीन दशकदेखि नेताको भजाई खाने भाँडो

पश्चिम सुर्खेतको सडक राजनीतिले जनतालाई सास्ती

पार्वती बयक/ बैशाख १२, सुर्खेत ।
आवश्यक मर्मतसम्भारको अभावमा सुर्खेतको पश्चिम क्षेत्रलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने मुख्य मार्ग बड्डीचौर–गुटु–बेनीघाट सडकको अवस्था जीर्ण बन्दै गएको छ । सडकको अवस्था जीर्ण बन्दै गएपछि अहिले स्थानीयलाई यात्रामा सकस भएको हो । सदरमुकाम आउने अर्को विकल्प नभएपछि त्यस क्षेत्रका नागरिक जीर्ण सडकमै आँखा चिम्लेर यात्रा गर्न बाध्य छन् । तर, नेपाली काँग्रेसका शिवराज जोशी, नेकपा माओवादीका नरबहादुर विष्ट, नेपाली काँग्रेसकै तप्तबहादुर विष्ट, नेकपा एमालेका नवराज रावत र नेकपा माओवादीका विन्दमान विष्टले बड्डीचौर–गुटु–बेनीघाट सडकको स्तरोन्नतीको नाममा राजनीति मुद्धा बनाएर सत्तामा पुगेपछि उनीहरु पैसा कमाउनेमा केन्द्रित हुने बाहेक अरु केही गर्न सकेनन् । समग्र पश्चिम सुर्खेतको विकासमा महत्वपूर्ण  मानिएको यो सडकलाई साविकको जिल्ला विकास समितिले पनि हरेक जिल्ला परिषद्मा प्राथमिकता दिँदै आएको थियो । अहिले त त्यो पनि बन्द भयो । यो सडक नेतालाई राजनीति भजाउने बाहेक अरु केही बन्न सकेन । यही सडकको सुधार गर्ने नारा दिएर धेरै नेताले भोट पनि मागे । तर, वर्षौंसम्म पनि यो सडकको स्तरोन्नति तथा कालोपत्रे हुन सकेको छैन ।

लामो समयसम्म पनि सुधार नभएपछि अहिले यो सडक जीर्ण बन्दै गएको हो । सडकलाई नै मुख्य नारा बनाएर चुनाव जितेका सांसद्समेत अहिले गाउँ जाँदा उक्त सडकमा आफै नाक खुम्च्याएर यात्रा गर्ने गरेका छन् । गर्मीमा धुलाम्मे र बर्खाको समयमा पानी, बाढीले जीर्ण बनेको सडक सुधारमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सडकभरि खाल्डाखुल्डी छन् । कतिपय ठाउँमा सडकमै कुलो बनाउँदा त्यसले थप क्षति पुर्याएको छ । सडकको अवस्था बेहाल भए पनि यसको मर्मतसम्भारमा कसैले चासो नदिएको गुटुका समाजसेवी काशीराम देवकोटा बताउँछन् । ‘वर्षौं भयो सडकमा मर्मतसम्भारको काम भएको छैन’, उनले भने, ‘सदरमुकाम जाने अर्को विकल्प छैन, यही जीर्ण सडकमा आँखा चिम्लेर यात्रा गर्न बाध्य छौं । दर्जनौं दुर्घटना भइसके, तर कसैले सुधारको चासो दिएका छैनन् ।’ सडकको अवस्था निकै जीर्ण भएपछि हाल विजौरा उताको सडकमा जिप मात्र सञ्चालन हुने गरेका छन् । स्थानीय बासिन्दा जिपमै जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । ‘सदरमुकाममा काम परिरहन्छ, हिँडेर आउन धेरै दिन लाग्छ’, देवकोटाले भने, ‘त्यसैले जस्तोसुकै अप्ठ्यारो बाटो भए पनि हामीले ज्यान जोखिममा राखेरै यात्रा गरिरहेका छौं, सडक सुधार नहुँदा हामीलाई धेरै सास्ती छ ।’ बड्डीचौर–गुटु–बेनीघाट सडकमा बारम्बार गाडी फस्ने गरेका छन् । सडकमा यात्रुले नै गाडी धकेल्नुपर्ने बाध्यता अहिले पनि हटेको छैन । सडकअन्तर्गत पर्ने अधिकांश खोलामा पक्की पुल नहुँदा थप समस्या भएको हो ।  हालसम्म भएको दुर्घटनमा यो सडकमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । बिजौरादेखि लगामसम्मको सडक अत्यन्तै जीर्ण र जोखिमपूर्ण रहेको स्थानीयको भनाइ छ । सडकका कतिपय स्थानमा पहिरोले समेत क्षति पु¥याएको स्थानीय बासिन्दाले जानकारी दिए । ‘सडकको अवस्था हेर्ने हो भने जीउ नै सिरिंग हुन्छ । तर, त्यसको विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै जिपको यात्रा गर्न बाध्य छन्,’ उनले भने । जिल्लास्तरीय राजनीतिक दलका प्रमुख पदहरुमा पश्चिम सुर्खेतका नेताहरुको बाहुल्य छ । तर, उक्त सडकको स्तरोन्नतिका लागि उनीहरुको ध्यान नपुगेको पश्चिमवासीको गुनासो छ । ‘विकासको पहिलो पूर्वाधार नै सडक हो’, गुटुका प्रकाश बयकले भने, ‘तर, हाम्रो क्षेत्रमा सडककै बेहाल छ, कसरी हुन्छ यस क्षेत्रको विकास ? ’ पश्चिम क्षेत्र विकासमा पछाडि पर्नुको प्रमुख कारण नै सडक भएको उनले बताए । यहाँका जनप्रतिनिधिका रुपमा रहेका नेताले सडक सुधारका लागि चासो नै नदिएको समेत उनले आरोप लगाए । गुटु–बेनीघाट सडक त एउटा उदाहरण मात्रै हो । पश्चिम सुर्खेतका अधिकांश ग्रामीण सडकको अवस्था पनि यस्तै छ । ती सडकले नागरिकलाई सुविधाभन्दा बढी सास्ती दिएको स्थानीयवासीको गुनासो छ । वनको काठ निकासी गर्न डोजर लगाएर थुप्रै सडक निर्माण गरिएको तर नागरिकलाई सुविधा दिने गरी सडक निर्माणमा ध्यान नदिइएको बयकको भनाइ छ । पश्चिमका ग्रामीण क्षेत्रमा बिरामी पर्दा एम्बुलेन्स लैजान सक्ने अवस्थासमेत नरहेको उनी बताउँछन् । बर्खाले क्षति पु¥याएका सडक तत्काल मर्मतसम्भार गरी आफूहरुलाई सुविधा दिन पश्चिम सुर्खेतवासीले अनुरोध गरेका छन् । बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा र चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही समेत सडक स्तरोन्नती भन्दा पैसा कमाउने धन्दामा जुटेको बयकको आरोप छ । ‘उनहरुलाई राजनीति चाहिएकै होइन, कसरी पैसा कमाउने हो, उनीहरुको ध्यान दिनरात उतै छ,’ बयकले भने, ‘जनप्रतिनिधिका आड्मा नागरिकलाई बेबकुफ बनाएर आफु र आफ्न्तलाई धनि बनाउने काममा बाहेक पश्चिम सुर्खेतमा उनीहरुले अहिलेसम्म माखो समेत मार्न सकेका छैन् ।’ उनीहरुलाई जनताले निर्वाचित गराएर ठूलो धोका पाएको उनको भनाई छ । कच्ची सडकमा हल्का बर्षा हुँदा हिलाम्मे र गर्मीमा धुलाम्मे भएर नागरिकले सास्ती पाउँदा समेत जनप्रतिनिधिहरु जनताको नाममा आएको रकमलाई दुरुप्रयोग गरिरहेको बयकले आरोप लगाए ।

 

Translate »