२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

राष्ट्रिय खाद्य बैंकले थाल्यो खेतीपातीको काम



काठमाडौं । मुलुकको कृषिक्षेत्रमा औद्योगिकीकरण गर्ने योजनाअनुरूप शुरू भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले खेतीपातीको काम शुरू गरेको छ । खाद्य बैंकले पहाडी जिल्लाबाट मकै र कोदोको खेतीको तयारी थालेको हो ।अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उद्देश्य राखेर काम गरिरहेको खाद्य बैंकले पहिलो चरणमा धान, गहुँ, मकै, आलु, तोरी, गेडागुडी लगायत उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । सोही उद्देश्यअनुरूप अहिले दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायत पहाडी जिल्लामा मकैखेतीको काम धमाधम भएको र कोदो रोप्न जमीन खनजोतको काम भइरहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए ।

 

असारदेखि तराईका विभिन्न जिल्लामा धानखेती गर्ने तयारी समेत बैंकले शुरू गरिसकेको छ । त्यसका लागि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सुनसरी, झापा लगायत जिल्लामा जग्गा भाडामा लिने, सहकारीसँग सहकार्य गर्ने, आवश्यक मेशिन तथा औजारको व्यवस्थापन गर्ने, बाँझो जमीन खनजोत गर्ने काम शुरू भएको बताइएको छ । बैंकले यसअघि नै धान, फलफूल तथा तरकारी खेतीका लागि बर्दियाको गुलरिया नगरपालिकामा २०० बिघा जमीन भाडामा लिएको थियो । गुलरियामै १ हजार बिघा जमीन मलिलो बनाउन धैंचा नामक झारको खेती गर्न लागिएको उप्रेतीले बताए । पोषिलो आहारका लागि ‘दिगो कृषि उत्पादन, हाम्रो अभियान’ नारालाई आत्मसात् गर्दै बैंकले अग्र्यानिक उत्पादनमा जोड दिएको छ ।

आवश्यक ज्ञान, शीप, बीउबिजन, मलजलको समुचित व्यवस्थापन गरी कृषिमा औद्योगिकीकरण गर्ने उद्देश्यले गत फागुनमा २ अर्ब रुपैयाँ लगानीमा बैंकको स्थापना भएको थियो । बैंक आफैले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दुध, दही, माछा, मासु, चिया, जडीबुटी लगायत खाद्य वस्तुको उत्पादन गर्नेछ । पहिलो चरणमा मकै, कोदो, धानको खेती शुरू गरेको बैंकले दोस्रो चरणमा माछा, मासु, फलफूल, दुध र तरकारीको उत्पादनमा जोड दिने योजना बनाएको छ । यस्तै तेस्रो चरणमा ती उत्पादन ठूलो परिमाणमा भण्डारण, प्रशोधन, ग्रडिङ र प्याकेजिङ गरी बाह्य मुलुकमा निर्यात गरिनेछ । बैंकले अन्न भण्डारणका लागि यतिबेला विभिन्न जिल्लामा भवन निर्माण समेत शुरू गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ वैशाख १४ गते मंगलबार
Translate »