राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन चिह्न प्रदान

एमाले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी प्रतिस्पर्धामा

बैशाख १६, काठमाडौं ।
निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह र क्रम निर्धारण गरेको छ । आयोगको विहीबार बसेको बैठकले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता हुन आएका नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी जम्मा पाँच राजनीतिक दलको नामावली राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य, नेपाली काँग्रेसलाई रुख, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो र नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न प्रदान गरिएको र क्रमशः १ देखि ५ को क्रममा मतपत्रमा निर्वाचन चिह्न समावेश गरिने निर्णय गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली स्वीकृत गरेको छ । स्वीकृत मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा प्रकाशन गर्ने प्रवक्ता श्रेष्ठले जनाए । प्रकाशित मतदाता नामावलीमा वैशाख २१ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने र मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले बताएको छ । रेडियो नेपाल

Translate »