महामारीमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन गर्न सकेन

सागर परियार / बैशाख १९,जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट हुँदा पनि आफ्नै लापरबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्च गरेर २०७६ सालमा ल्याइएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोग विहीन अवस्थामा छ । जुम्लामै आवश्यकता अनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महामारीमा समेत अहिलेसम्म एक वटा पनि अक्सिजन सिलिन्डर उत्पादन हुन सकेको छैन । प्रतिदिन करिब १० वटा सिलिन्डर अक्सिजन उत्पादन हुने, जुम्लामा अक्सिजन अभावले बिरामी छटपटाउनु नपर्ने जस्ता आश्वासन दिएको प्रतिष्ठानले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न नसकेको भन्दै नागरिक अगुवा राज बहादुर महतले आक्रोश पोख्ए । साथै बत्ती अभावले अक्सिजन प्लान्ट सुचारु हुन नसकेको गत वर्ष गुठीचौर गाउँपालिकाबाट ६० लाखमा १० किलोवाट बत्ती समेत खरिद गरिएको थियो । त्यसपश्चात् पनि नियमित अक्सिजन उत्पादन गर्न नसकी प्रतिष्ठानकै परिसरमा अक्सिजन प्लान्ट थन्किएको छ । अहिले प्रतिष्ठानमा हाल २ सय अक्सिजन सिलिन्डर स्टक छन् । जसमा १ सय ५० वटा सिलिन्डर कोरोनाका बिरामीलाई छुटाइएको छ ।

कोरोना सङ्क्रमित नियमित बढिरहेका छन् । दैनिक १० जनाका दरले सङ्क्रमित थपिएमा १५ दिनभन्दा बढी अक्सिजनले नधान्ने अवस्था छ । तर अक्सिजन प्लान्ट हुँदाहुँदै पनि प्रतिष्ठानले चासो नदिएकै कारण कोरोना महामारीमा समेत अक्सिजन उत्पादन नभएकोप्रति जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आपत्ति जनाउनु भएको छ । फेरी पनि बत्तीको समस्या देखाउँदै उत्पादन हुन नसकेको कुरा आएको छ । तर यथाशीघ्र प्रतिष्ठानले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनु पर्ने उनको जोड छ । शनिवार बसेको कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले पनि तत्काल अक्सिजन प्लान्ट सञ्चालन ल्याउन समेत आग्रह गरेको छ ।करोडौँ खर्च गरेर मेसिन ल्याउने तर सेवा सुचारु गर्न ढिलासुस्ती नगर्न समेत प्रतिष्ठानलाई डिसिसिएमसिको बैठकले ध्यानाकर्षण गराएको सहायक प्रअिज नन्दराम चौलागाईले बताए । यता प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजिव शाह बत्तीको व्यवस्था भए पनि तत्कालै अक्सिजन उत्पादन गर्ने सम्भावना नरहेको बताए। उनले भने, “बत्तीको अभाव छदैछ । अक्सिज प्लान्ट सञ्चालन गर्न चाहिने मुख्य साधन (बुस्टर) नै छैन । खरिद प्रक्रियामै छौँ । छिटै अक्सिजन उत्पादन हुने गरी तयारीमा जुटेका छौ ।” सिलिन्डर उत्पादन गर्न नसके पनि हाल अक्सिजन प्लान्टको पाइपबाट २० देखि २२ बेडमा अक्सिजन दिइरहेको समेत निमित्त अस्पताल निर्देशक शाहको भनाई छ ।उनले जुम्लाको २ सय किलोवाट बत्ती नियमित प्रतिष्ठानलाई दिएमा पनि २४ घण्टमा ५ देखि १० वटा सिलिन्डर मात्रै भर्न सकिने बताए । बाहिर जिल्लामा पनि सिलिन्डर नभएको र भए पनि सारै महँगो पर्ने भएकोले जिल्लामै उत्पादन गर्नुको विकल्प छैन । तर प्रतिष्ठानले निकै गम्भीरताका साथ लिन जरुरी छ । तर सदरमुकाम नै अन्धकार रहेर प्रतिष्ठानलाई सबै बत्ती दिन सरोकारवाला तयार रहे पनि प्रतिष्ठानसँग तत्काल अक्सिजन उत्पादन गर्ने सामर्थ्य छैन । जसका कारण जुम्लामा अक्सिजन अभावको समस्या खडा भएको छ । कोरोना महामारी फैलिएका बेला कर्णाली प्रतिष्ठानले अक्सिजन उत्पादन गर्ला, कर्णालीमा अक्सिजनको अभाव नहोला भनेर ढुक्क भएका कर्णाली बासी भने निराश भएका छन् ।

Translate »