शहरी किसान कौसी खेतीतर्फ आकर्षित

स्काई न्यूज /बैशाख १९, सुर्खेत ।
बन्दाबन्दीका कारण किसानको बारीमा तरकारी कुहिएर गएको समचार आउन थालेका छन् । तर, शहर, बजारमा भने उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । जाँगर हुनेलाई भने बजारमा जतिसुकै महँगो भएपनि कुनै चिन्ता छैन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको प्रगति टोलका नागरिकले बन्दाबन्दीको सदुपयोग गर्दे घरको छतमा कौसी खेती गरेर ताजा अर्गानिक तरकारी उत्पादनसँगै टोल वस्तीलाई नै हरियाली बनाएका छन् । लकडाउनले बजारमा तरकारीको मूल्य आकासिएको छ । जाँगर हुनेलाई भने बजारमा जतिसुकै महँगो भएपनि कुनै चिन्ता छैन् । सामाजिक परिचालिका रेखा केसीले वीरेन्द्रनगरका नगरपालिकाले लिएको हरियाली पर्यवद्र्धनमा ६ नम्वर वडाको प्रगति टोल जुटेको बताईन् । उनले जाँगर भएका नागरिकले बन्दाबन्दीका बेला घरको छतमा कौसी खेती गरेर ताजा तरकारी उत्पादनसँगै टोललाई नै हरियाली बनाई रहेको जनाईन् । वातावरण टोलका नेत्रबहादुर थापाले समेत घरमै बसेर साँझबिहान सामान्य परिश्रम गर्दा कौसी खेतीबाट स्वच्छ तरकरी खान पाउनुका साथै नियमित शारीरिक ब्याम हुने गरेको गरेको अनुभव सुनाए । त्यस्तै प्रगति टोलकी भगवती खड्काले घरको भान्सामा जम्मा हुने कुहिने प्रवृतिका फोहोर सदुपयोगगर्दै कौसी खेतीबाट बढी भएको तरकारी छिमेकीलाई समेत बाट्ने गरेको बताईन् । घरकै खुल्ला ठाउँ सदुपयोग गर्न सके हरियो तरकारीका लागि बजार धाउनु पर्ने बाध्यता समेत हट्ने शहरी किसानको अनुभव छ । आफुभित्रको जोश र जाँगर भएमा स–साना गमला, क्रेट तथा खाली बोरामा माटो भरेर पनि जिविका चल्ने उत्पादन घर भित्रै फलाउन सकिन्छ भन्ने वीरेन्द्रनगर प्रगतिटोलका नागरिकको एउटा सानो उदाहरण हो ।

कौसी खेतीमा लहरे बाली
यतिबेला दोस्रो चरणको निषेधाज्ञा तथा बन्दाबन्दीले तपाईं फुर्सदमा हुनुहुन्छ । घरमा बस्दा फराकिलो कौसी तथा छत छ भने यसलाई उपयोग गर्न अहिले लहरे बालीको सिजन हो । तपाईंले आफ्नो कौसीमा लहरे प्रजातिका बिरुवा लगाएर असारसम्म तरकारीको रुपमा प्रयोग गर्न सक्ने गरी फलाउन सक्नुहुन्छ । घरको छत तथा कौसीलाई अधिकतम उपयोग गर्दै अर्गानिक तरकारी उपयोग गर्ने सोचमा भएकालाई यतिबेला लहरे तरकारी तथा गोलभेडाका बिरुवा रोप्ने सिजन हो । अहिले सिजन अनुसारको बाली लगाएर समय सदुपयोग गर्ने सोचमा हुनुहुन्छ भने अहिले बिउ राख्ने भन्दा पनि विरुवा सार्ने बेला हो । अहिले विरुवा सार्दा असारसम्म फल पाइसक्ने हुन्छ । लहरे बाली सिमी, बोडी, काँक्रो, घिरौला, फर्सीका साथै गोलभेडा, भेंडेखुर्सानीजस्ता बाली पनि लगाउन सकिने सुझाव कौसी खेती तथा बालीलाई अभियानकै रुपमा प्रर्वद्धन गर्दै आएका वीरेन्द्रनगर नगरपालिका कृषि उपशाखा प्रमुख हेमराज केसी सुझाव दिन्छन् । उनका अनुसार बिउभन्दा पनि बिरुवा किनेर वा आफैंसँग भएका बिरुवा कौसीमा लगाउँदा सानो गमलाभन्दा फराकिलो आकारका गमला तथा छतमै माटो भरेर फराकिलो पारेर बेर्ना सार्नुपर्छ । जमिनमा यसको खेती गर्दा जरा फैलिन पर्याप्त स्थान हुने तर कौसीमा गर्दा जराको फैलावटलाई बढी ध्यान दिएर फराकिलो र माटोको मात्रा पनि मिलाउन आवश्यक छ । माटोको समस्या नभए पनि कौसी खेती गर्दा मल भने खरिद गर्नुपर्ने समस्या हुन सक्छ । त्यसका लागि कतिपय अवस्थामा भान्साबाट निस्कने कुहिने वस्तु सीधै बोटमा राख्न वा छुट्टै भाडामा राखेर मल बनाउन सकिन्छ भने बजारबाट खरिद गर्न पनि सकिन्छ ।
यस कारण बिरुवामा थ्रीजी कटिङ आवश्यक
थ्रीजी कटिङ भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्तासम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ । थ्रीजी कटिङको फाइदा भनेकै एउटा हाँगामा धेरैभन्दा धेरै फल फलाउने र एउटै बोटबाट धेरै उत्पादन गर्न सजिलो हुनु हो । यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाबाट उत्पादन गरिँदैन । तेस्रो पुस्ताको हाँगाबाट उत्पादन लिने गरिन्छ । बिरुवा लगाइसकेपछि जुन मुख्य लहरा हुन्छ, त्यसलाई पहिलो पुस्ता भनिने एवं त्यही मुख्य लहराबाट आउने अरू शाखा दोस्रो र दोस्रो हाँगाबाट पनि आएका शाखा हाँगालाई तेस्रो पुस्ता भनिने केसी बताउँछन् । मुख्य लहराको ४ देखि ६ वटा पातसम्म कुनै पनि शाखा हाँगा राख्न नहुने उनको सुझाव छ ।