साउनबाट श्रमिकले न्यूनतम १५ हजार पाउने

सरकारले श्रमिकको पारिश्रमिक बढायो

बैशाख १९, काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो । मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्‍याइएको मन्त्रालयले जनाएको छ । अब नेपालमा श्रमिकले दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ आम्दानी गर्न सक्ने भएका छन् । यसअघि दैनिक ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ रहेको थियो । तोकिएको पारिश्रमिकको अतिरिक्त श्रम ऐनअनुसार पाउने सञ्चयकोष, उपदानसहितका सुविधा समेत उद्योग(प्रतिष्ठानले प्रदान गर्नुपर्नेछ । स्थानीय सरकारहरुले आफैले न्यूनतम पारश्रमिक तोक्न सक्ने अधिकारको प्रयोग गर्दा समेत अब अहिले तोकिएभन्दा कम हुनु नहुने गरी नियम बनेको छ । तोकिएकोभन्दा कम पारिश्रमिक दिने गरी रोजगार सम्झौता गर्न पाइने छैन । सरकारले पारिश्रमिक बढाएपनि उद्योगी र व्यवसायीले सहमति जनाएका छैनन् । उनीहरूले महामारीमा पारिश्रमिक बढाएमा त्यसले व्यवसायिक क्षेत्र थप समस्यामा पर्ने बताउँदै आएका छन् । (अनलाईन खबर)

 

Translate »