अक्सिजन उत्पादन गर्ने उद्योगलाई प्रहरीले सुरक्षा दिने

वैशाख २२, काठमाडौं । कोभिड–१९ संक्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरूपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले ७७  ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरूपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो ।


गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरूपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहपछि मन्त्रालयले प्रजिअलाई निर्देशन दिएको हो । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गर्न थालेको जनाइएको छ ।  नेपाल प्रहरीले पनि गृहको निर्देशन अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाउन र दुरूपयोग हुन नदिन सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।  यसअघि अक्सिजनको अभाव हुन थालेको भन्दै उद्योगीले सुरक्षाको माग गरेका थिए । अहिले मुलुकमा अक्सिजनको भन्दा सिलिण्डरको अभाव देखिएको व्यवसायीले बताउँदै आएका छन् । हाल देभभर अक्सिजनका २४ ओटा उद्योग रहेका छन् । रासस

Translate »