सुर्खेत उद्योग वाणिज्य संघद्वारा कर दाखिला गर्ने र विवरण बुझाउने समय माग


स्काई न्यूज /बैशाख २२, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले सरकारद्वारा जारी निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि सरकारसँग माग गरेको हो । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानूनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रुपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था ‘एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने’ व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहुन्जेलसम्मको लागि सहज रुपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनु पर्ने माग संघले राखेको छ । संघका महासचिव कँडेलले विशेष आर्थिक प्याकेजसहित कर जरिवाना छुटसहित विद्युत महसुल समेतको छुटको माग गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन गर्न माग पत्र पेश गरिएको जनाए । उनले विगत वर्षदेखि नै कोरोना महामारीले थिलोथिलो परेको निजीक्षेत्र तंग्रिन नपाउँदै पुनः निषेधाज्ञा लागु हुँदा आय, आम्दानीका सबै स्रोतहरु पूर्णरुपमा ठप्प भएकोले व्यवहारिक समस्यालाई मनन् गरी सरकार तथा सम्बन्धित निकायले रकम महशुल, व्याज किस्ता, घरभाडा, आदी बुझाउने समय थप गर्नुका साथै स्थिति सहज नहुँदासम्म जरिवाना नथप्ने व्यवस्था गर्न आग्रह गरे । उनका अनुसार बैंक तथा वित्तिय संस्थाका व्याज किस्ता, आयकर, मूल्यअभिबृद्धि कर, अन्तशुल्क, मास्केवारी, उद्योग कलकारखानाको विद्युत, टेलिफोन, श्रमिक कर्मचारीको तलव, घरभाडा, उद्योग तथा कम्पनीहरुमा बुझाउनु पर्ने बक्यौता आदीको भारले आम व्यवसायी फेरी मारमा परेको छन् ।