२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 30, 2026

निषेधाज्ञाका कारण साना तथा घरेलु उद्योग मर्कामा



वैशाख २५, रोल्पा । कोभिड-१९ को नयाँ भेरिएन्टको संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण रोल्पाका साना तथा घरेलु उद्योगहरु मर्कामा परेका छन् ।

विशेष गरी दैनिक उपभोग्य सामग्रीको रुपमा खपत हुने चाउमिन, पाउरोटी, केक, बेकरी तथा डेरी उद्योगहरु मर्कामा परेका हुन् । बजार तथा विद्यालय खुला भएको समयमा धेरै उत्पादन हुने यी सामग्रीहरु अहिले बजार तथा विद्यालयहरु बन्द हुँदा उत्पादित सामग्रीहरु खेर जाने गरेको उद्योगीहरुको गुनासो छ ।

कोरोना संक्रमणको डरले होम डेलिभरी सेवा समेत बन्द भएकाले उद्योगको कच्चा पदार्थ पनि कुहिएर खेर जाने हो कि भन्ने चिन्ताले सताएको भगवति देवी पाउरोटी उद्योग त्रिवेणी गाउँपालिका–५ जुँगारका सञ्चालक डिल्लीराज घर्तीले बताए । ‘बजार र विद्यालय खुलेको समयमा दैनिक ८ देखि १० हजारसम्मको उत्पादन खपत हुन्थ्यो’ घर्तीले भने ‘अहिले त उद्योग नै बन्द गर्नु परेको छ ।’

घर्तीले करीब १० लाख लगानी गरेर केहि महीना अघि मात्र त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारमा उद्योग स्थापना गरेका हुन् । उद्योग खोलेको केहि महीनामै कोरोनाको दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । घर्ती जस्तै रोल्पाका झण्डै दुई दर्जन यस्ता उद्योग सञ्चालकहरु मर्कामा परेका छन् ।(आर्थिक अभियान)

प्रकाशित मिति : २०७८ वैशाख २५ गते शनिबार
Translate »