कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई गुणा बढ्यो
वैशाख २६, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको संख्या पहिलो लहरको भन्दा दुई गुणा बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णाली प्रदेशमा ४० जना संक्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो संख्या बढेर ८२ पुगेको हो । निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पीसीआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय संक्रमित तीन हजार ८१८ जना रहेका छन् । (रासस)