नेपालका लागि भू- उपग्रहसम्बन्धी अध्ययन गर्न ४ ओटा कम्पनीको प्रस्ताव

वैशाख २६, काठमाडौं । नेपालको आफ्नै भू- उपग्रह राख्न आवश्यक अध्ययनका लागि चार ओटा कम्पनीले प्रस्ताव गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत मंसिरमा पुरानो प्रस्ताव रद्द गरेर भू- उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।

प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ ओटा कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो । पाँच ओटा कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार ओटाले प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार भारतको केपिएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको यूरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले आर्थिक प्रस्ताव पठाएका छन् । आर्थिक प्रस्ताव पेश नगर्नेमा अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल छ ।
यसअघि चीनको पेचिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्सको यूरो कन्सल्ट, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी–एग्रोस्याटले आशयपत्र बुझाएका थिए ।

यसैगरी अमेरिकाको स्पेस, यूएईको एसथ्रिटेल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम, सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनर छन् ।

आर्थिक प्रस्ताव पेश गरेका चार ओटा कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट हुनेछ । ४० प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ ।

प्रवक्ता पौडेलका अनुसार छनोटमा परेका चार ओटा कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्ताव माग गरिने छ । उनीहरुबाट आएको प्रस्ताव अध्ययन गरी प्राधिकरणले भू- उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा एक कम्पनीलाई दिनेछ ।

सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउन गत असारमा भू- उपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै भू- उपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ ओटा देशका २२ ओटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।
चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, सउदी अरब, क्यानडा, अमेरिका, फ्रान्स, रुस र इजरायलका गरी २२ ओटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए ।

दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भू- उपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । (रासस)

Translate »