खलङ्गामा जलविद्युत प्लान्ट पुनर्स्थापना

जुम्ला । जुम्ला सदरमुकामलाई विद्युत्मय बनाउन भारत सरकारको सहयोगमा जलविद्युत प्लान्ट पुनर्स्थापना गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको ठुलो शहर जुम्लामा पुरानो विद्युत् माग अनुसार आपूर्ति गर्न सकेको छैन । भारत सरकारको दुई करोड ६३ लाख आर्थिक सहयोगमा जुम्ला सदरमुकाम खलङ्गामा जलविद्युत प्लान्ट पुनर्स्थापना भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाल बहादुर सार्कीले बताए । उक्त प्लान्टको गएको बुधवार भर्चुअल माध्यमबाट उद्घाटन गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभाग गर्ने हेर्ने प्रथम सचिव करुण वंशलले भर्चुअल माध्यममार्फत प्लान्टको उद्घाटन गरे । भर्चुअल प्लान्ट उद्घाटन कार्यक्रममा जुम्लामा प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महत, पूर्व सांसद ललितजंग शाही समन्वय प्रमुख लगायतका सरोकारवालाको सहभागिता थियो ।

जुम्ला सदरमुकाममा २०४० सालमा स्थापना गरिएको २ सय किलोवाट विद्युत्को क्षमता दिनानुदिन घट्दै गएको छ । जिल्ला समन्वय समितिका प्रमुख सार्कीले भन्नुभयो, “जनघनत्व बढ्दै जाने, व्यापार व्यवसाय बढ्दै जाने तर विद्युत् आपूर्ति घट्दै जाने समस्या भयो । लामो प्रयास र छलफलपछि साढे २ करोडभन्दा बढीको जलविद्युत प्लान्ट पुनर्स्थापना गर्न सफल भएका छौँ ।” जुम्ला सदरमुकाममा रहेका करिब ३ हजार उपभोक्तालाई हालको २ सय किलोवाट विद्युत्ले पुगेको छैन । यहाँको करिब १ मेगावाट विद्युत्को आवश्यकता छ । प्लान्ट केही हदसम्म जुम्लामा विद्युत्को समस्यालाई समाधान गर्ने नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्रमुख गौरव पाण्डेको विश्वास छ । नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारले जुम्लालाई विद्युत्का लागि साढे २ करोड सहयोग गरेको हो । त्यस्तै भारतको सहयोगमा विभिन्न ठाउँमा अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनर्स्थापना हुँदै आएका छन् ।
दैनिक करिब १५ घण्टा लोडसेडिङ हुने जुम्लामा विद्युत् प्लान्ट जडान पश्चात् केही राहत हुने आसा गरिएको छ । जुम्लामा विद्युत् प्लान्टको स्थापना पश्चात् उपभोक्ता खुसी भएका छन् । भारतले नेपालमा ४ सय ५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये जुम्ला जिल्लाका दुई वटा परियोजनासहित कर्णाली प्रदेशमा १० विभिन्न आयोजना भारत सरकारको सहयोगमा निर्माण भइरहेका छन् । अघि भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ लाख बराबरको अत्याधुनिक एम्बुलेन्स समेत उपहार स्वरूप दिएको थियो ।(रेडियो नेपाल)