सल्यानका सबै तहमा अक्सिजन सहितको आइसोलेसन

दीपक शर्मा/ सल्यान। दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि जिल्लाका सबै पालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्णलाई तीव्रता दिन थालेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाका दश वटै स्थानीय अक्सिजन सहितको आइसोलेसन निमार्णलाई तीव्रता दिइरहेका हुन ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानथालेपछि शारदा नगरपालिकाले नेपाली सेना र जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा जिल्ला अस्पताल सल्यानमा २० बेडको अस्थायी आइसोलेसन निमार्ण गरी रहेको छ ।बनगाड कुपिण्डे नगरपालिकाले अक्सिजन सहितको १० , बागचौर नगरपालिका २५, कुमाख गाउँपालिकाले ५ बेड सहितको १५, छत्रेश्वरी गाउँपालिको ५ अक्सिजन सहितको २०, सिद्ध कुमाख गाउँपालिकाले ५ अक्सिजन सहितको २०, आइसोलेसन निमार्ण गरी सञ्चालनमा ल्याएका छन् ।

यस्तै पुरकोट गाउँपालिकाले ५ बेडको अक्सिजन सहितको ३० बेड , कालीमाटी गाउँपालिकाले २ अक्सिजन सहितको १५, दार्मा गाउँपालिकाले २० बेडको आइसोलेसन निमार्ण गरेका छन् । त्रिवेणी गाउँपालिकाले गत वर्ष नै ५ बेडको अस्थायी कोरोना अस्पताल निमार्ण गरी सञ्चालन गरेको छ ।गत वर्ष टोल टोलमा क्वारेनटाइन निमार्ण गरेका स्थानीय तहहरू यस वर्ष भने आइसोलेसन निमार्णमा जुटेका छन् ।

जिल्ला अस्पताल सल्यानमा १६ बेडको आइसोलेसन रहेको छ । १६ बेडको आइसोलेसन भएपनि अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ । आइसोलेसन बिरामीले भरिएपछि आकस्मिक कक्षमा समेत राखेर सङ्क्रमितको उपचार भइरहेको छ । जिल्लामा सोमबारसम्म ४ सय ४० सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट जिल्लामा १४ जनाको मृत्यु भइसकेको छ ।

Translate »