जुम्लामा खाद्यान्न अभाव हुँदा थप २५ सय क्वीइन्टल कोटा स्वीकृत

सागर परियार / बैशाख २८,जुम्ला ।
कोरोना महामारीको दोस्रो लहर शुरु भए सँगै जुम्लामा अनुदानको खाद्यान्न अभाव भएको गुनासो बढेपछि थप कोटा स्वीकृत भएको छ । महामारीमै खाद्यान्न अभाव भएर जुम्लामा खाद्यान्न सङ्कट निम्तिन सक्ने जोखिम बढेपछि खाद्य संस्थान व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २ हजार ५ सय क्वीइन्टल चामल थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार जुम्लामा चामल अभावको गुनासो बढेपछि केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको हो । प्रक्रिया सबै पुरा भएको छ । बढीमा अबको दुई हप्तामा २५ क्वीइन्टल चामल धनगढीबाट जुम्ला आइपुग्ने उनको भनाई छ । यस्तै प्रदेश कार्यालयसँग थप ५ हजार र नेपालगन्ज, बर्दिया, राजापुरबाट एकरएक हजार क्वीइन्टल चामल माग गरिएको छ । तर कोटा स्वीकृत हुन भने बाँकी रहेको छ ।

यस वर्ष ठेकेदारले जुम्लाका दुई वटा डिपोमा २ हजार क्वीइन्टल र खाद्य संस्थानमा करिब ५ सय क्वीइन्टल चामल हाल सम्म ढुवानी नहुँदा समस्या भएको हो । माग गरिएका सबै कोटा स्वीकृत भएपछि आगामी आउने दशैतिहारमा पनि चामल अभाव समेत संस्थानले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा ५ हजार ६५० क्विन्टल हो । प्रमुख सुनारका अनुसार यसमध्ये ९ सय क्विन्टल डोल्पा सर्मी र काइगाउँ डिपो पठाउनुपर्दछ । भने, जुम्लाका लागि ४ हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि चामल पुग्दैन । स्थानीय उत्पादनले ६ महिना नपुग्ने जुम्लामा यस वर्ष कोरोना महामारी सँगै खाद्यान्न सङ्कट भएको हो । नागरिकलाई कोरोना महामारीमा खाद्य (चामल) को समस्या नहोस् भने खाद्य संस्थान व्यापार कम्पनी जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित रुपमा चामल विक्री गर्दै आएको छ ।

जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्टाएको छ । २ वटा डिपो गरी २ हजार क्विन्टल चामलको कोटा विनियोजित गरेको हो । तर, चामल ढुवानीकर्ताले ढुवानी नगर्दा समस्या भएको स्थानीय बताउँछन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा निषेधाज्ञा जारी रहेको र गाउँका डिपो रित्तो भएकोले अनुदानको चामल लिनबाट वञ्चित भएका छन् । भने बजारको महँगो खाद्यान्न किन्न समेत नागरिक बाध्य छन् । जुम्लामा झन्डै २० हजार घरधुरीमा १ लाख ९ हजार बढी जनसङ्ख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । त्यसैले पनि जुम्लामा सरकारी अनुदानको चामल स्वीकृत कोटा अनुसार आपूर्ति ढुवानी गराउन सरोकारवालाको जोड आवश्यक छ ।

Translate »