२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 30, 2026

अमेरिकाद्वारा नेपाललाई थप ३२ करोड सहयोगको घोषणा



वैशाख ३०, कााठमाडौं । कोभिड–१९ का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप रू. ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको छ ।

अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने बिहीवार घोषणा गरेको अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।

बिहीवार घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को संक्रमण शुरु भए यताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस संक्रमण परीक्षण उपकरण, हात धुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा रू. ६७ करोड ८६ लाख प्रदान गरिसकेको पनि उक्त दूतावासले जानकारी दिएको छ ।

यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ संकट समन्वय तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । (रासस)

प्रकाशित मिति : २०७८ वैशाख ३० गते बिहीबार
Translate »