२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

लकडाउनकै बीच कर्णाली करिडोरको निर्माण कार्य तीव्र



जेठ २, हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा–सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच विभिन्न सडक खण्डमा निर्माण तीव्ररुपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ । सिमकोट सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमी जति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासम्बन्धी निर्णयमा निर्माण क्षेत्रलाई पास उपलब्ध गराई निर्माण सामग्री ल्याउन सहज भएसँगै निर्माण कार्यले तीव्रता पाइरहेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले जानकारी गराए । निषेधाज्ञामा साबिकको भन्दा निर्माण कार्यमा निर्माण सामग्रीको अभाव र तेलको अभावले गर्दा निर्माण कार्यमा सुस्तता आए पनि निर्माण कार्यको प्रगति सन्तोषजनक भइरहेको आयोजना प्रमुख लामाले बताए । योजनाअन्तर्गतको पुलतर्फको कार्य निर्माण सामग्री यथेष्ट साइटमा उपलब्ध नभएको र चीनको हिल्सा नाकासमेत बन्द भएको हुँदा पुल निर्माण कार्यमा थोरै ढिलाइ भएको योजना कार्यालयले जानकारी दिएको छ । सिमकोट सल्लिसल्ला सडक खण्डको दुल्लीकुना भिर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट निर्माणस्थलसम्म आइसकेको र कोभिड–१९ का कारण इन्धनको अभावले गर्दा उक्त भिर फुटाउन केही समयसमेत लाग्ने सपना धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि तेजबहादुर महतले बताए । (रासस)

प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार
Translate »